
जनकपुरधाम- केही महिना अघि हस्पिटलको लापरबाहीका कारण एक नवजात शिशुको मृत्यु भएको जनकपुरधामको रामानन्दचोकस्थित नैना हस्पिटलमा फेरि पनि लापरबाहीकै कारण एक महिलाको मृत्यु भएको परिवारले आरोप लगाएका छन्।
जनकपुरधाम उपमहानगरपालिका–१२ हनुमाननगर बस्ने दीलिप मण्डलकी २८ वर्षीया श्रीमती विद्याकुमारी मण्डलको मृत्यु भएको छ । विद्यालाई प्रशव पीडा हुँदा परिवारजनले उपचारका लागि भदौ २३ गते नैना हस्पिटलमा ल्याएका थिए । नैना हस्पिटलमा २४ गते उनको नर्मल डेलेभरि भयो । शिशु जन्मिएपछि आमाको पाठेघरबाट अत्यधिक रक्तस्राव हुन लाग्यो । डेलेभरिपश्चात् बिरामीको पाठेघर फाटिसकेको थियो । उनलाई परिवारजनले रगतको व्यवस्था गरी ३१ पोका रगतसमेत चढाइयो। तर पनि उनी गम्भीर अवस्थामा रहेको भन्दै परिवारको सहमतिबिना नै चिकित्सकले उनको पाठेघर हटाइदिए । सोही क्रममा पाठेघरको नली काटियो । त्यसपछि विद्याको अवस्था झन बिग्रिदै गयो । मृतकका पति दीलिपले भने, ‘ नर्मल डिलेभरिपश्चात् यदि मेरो श्रीमतीको पाठेघरबाट अत्यधिक रक्तस्राव भइरहेको थियो भने अस्पतालले हामीलाई जानकारी दिएन । हामी त्यति बेला नै बिरामीलाई बाहिर लगथ्यौं । तर, अचानक अवस्था जटिल बनिसकेपछि अस्पतालले हामीलाई जानकारी गरायो ।’ ‘डाक्टरलाई बिरामीको अवस्था ठिक छैन भने अन्यत्र रेफर गरिदिन आग्रह गर्दै आएका थियौँ । तर, ती डाक्टरले उसको अवस्थामा सुधार आइसकेकोले रेफर गर्नु पर्दैन भन्दै आइरहेका थिए,’ उनले, ‘तर, अचानक अवस्था बिग्रेपछि हामी २५ गते बिरामीलाई लिएर हेलिकप्टरमार्फत काठमाण्डुको मेडिसिटी अस्पताल पुग्यौं ।’
मेडिसिटी अस्पतालमा २२/२३ दिनसम्म उपचार गराए पनि अन्त्यमा शनिबार बिहान त्यहाँको चिकित्सकले जनकपुरकै हस्पिटलले बिरामीको अवस्था बिगारेकोले त्यहीँ लगेर उपचार गराउन सुझाव दिएको दीलिपले बताए । शनिबार बिहान फेरि बिरामीलाई जनकपुरधाम ल्याएर नैना हस्पिटलमै भर्ना गरिएको थियो । तर, बिरामीको अन्तिम अवस्थामा पनि यस अस्पतालका चिकित्सकले उनलाई बचाउने कुनै प्रयास नगरेको उनको दुःखेसो छ । उनले यहाँ आएपछि आफ्नो श्रीमतीको मृत्यु भएको बताए । मेडिसिटीमा ३२ लाख रुपैयाँ खर्च भएको उनले सुनाए ।
उनले आफ्नो जग्गा बन्धकी राखेर सो पैसा ऋण लिएकोसमेत दुःखेसो सुनाए । घटना सम्बन्धमा अस्पतालले भने सकेसम्म बिरामीलाई बचाउने सम्पूर्ण प्रयास गरे पनि बचाउन नसकिएको र काठमाण्डुमा उपचाररत् रहेको बेला मानवताको नाताले दुई लाख रुपैयाँ सहयोगसमेत गरेको जनाएको छ ।
यता,अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका परिवारजनले बिहानैदेखि नैना हस्पिटलको अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा प्रहरी र मृतकका परिवारजनबीच सामान्य झडपसमेत भएको छ । यसअघि गत भदौ १६ गते पनि नैना हस्पिटलको लापरबाहीका कारण एक नवजात शिशुको जन्मिएको दोस्रो दिनमै मृत्यु भएको थियो । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–३ त्रिभुवननगर बस्ने रवीन्द्र साहकी पत्नी चञ्चला देवीले जन्म दिएको शिशुको अस्पतालका चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको थियो ।
वडा दशैँको शुभकामना















