
काठमाडौं। आगामी मंसिर ४ गते हुने आमा निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने समय तोकेको छ। त्यसका लागि आयोगले आवश्यक संरचना, सुरक्षा प्रणालीको व्यवस्था गरिसकेको जनाएको छ।
सबै राजनीतिक दलहरूलाई सबै वर्ग, जाती समेटिने गरी समानुपातिक ढंगले उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोग आयोगले आग्रह गरेको छ। दलहरूले निर्वाचन कार्यक्रम परिवर्तन गर्न सुझाव दिए पनि आयोगले पूर्वनिर्धारित कार्यक्रममा परिमार्जन गरेको छैन।
स्थानीय तहको निर्वाचन, समानुपातिक तर्फको उम्मेदवारी दर्ताका लागि २ दिनको समय दिएजस्तै प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताका लागि पनि समय बढाउन माग गरे पनि आयोगले समय थप नगर्ने जनाएको छ।
दलहरूले बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ। आयोगका अनुसार उम्मेदवारी दर्ता गर्नका लागि उम्मेदवारको भौतिक उपस्थिति कानुनले आवश्यक ठानेको छैन। वारेस मार्फत पनि गर्न सकिन्छ।
उम्मेदवारी दर्ताका लागि आवश्यक पर्ने दलको आधिकारिक पत्र, निस्सा, वारेसनामा समस्या आएमा आयोगको केन्द्रीय कार्यालयबाट सम्बन्धित सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाउन आयोग सहयोग गर्न तयार रहेको जनाएको छ। जिल्ला जान नपाएका उम्मेदवारले आयोगमै मनोनयन दर्ता गर्न पाउने व्यवस्था आयोगले गरेको छ।