
जनकपुरधाम- धनुषामा अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभामा खटिने म्यादी प्रहरीको प्रशिक्षण शुरु भएको छ ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँगै निर्वाचनको शान्ति सुरक्षाका लागि खटिने म्यादी प्रहरीहरूको प्रशिक्षण हिजोबाट शुरु भएर १० दिनसम्म जारी रहने धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनु भयो ।
जनकपुरधामको तिरहुतियागाछीको खेलमैदानमा शुरु भएको १० दिने प्रशिक्षणमा भर्ना भएका ३ हजार ४ सय ८६ जना म्यादी प्रहरीले प्रशिक्षण लिइरहेका छन् । भर्ना भएका प्रहरी मध्ये १ हजार ९ सय ११ जना स्थानीय तहमा खटेका म्यादी प्रहरी रहेका छन् ।
यसै गरि भर्ना भएका म्यादी प्रहरी मध्ये ६ सय ५० जना महिला तथा बाँकी सबै नयाँ उम्मेदवारहरू रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कूल ४० दिनका लागि म्यादी प्रहरी भर्ना भएका छन् । निर्वाचनको लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले नपुग्ने भएपछि सरकारले म्यादी प्रहरी भर्ना गर्ने चलन रहेको छ ।