
काठमाडौं- निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई ‘फ्रि भिसा, फ्रि टिकट’ को विषयमा स्पष्टीकरण सोधेको छ ।
रौतहटमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले ‘बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौं तालिम मिलते है’ भन्दै मतदातालाई प्रभावित पार्ने गरी सार्वजनिक अभिव्यक्ति दिएर निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, 'उपर्युक्त सम्बन्धमा रौतहट जिल्लामा आयोजित कार्यक्रममा तपाईंले आफूले चुनाव जिते देशबाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएको, तपाईंले 'बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौं तालिम मिलते है' भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईंको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ ।'
आयोगले भनेकाे छ, 'निर्वाचन आचारसंहिताको उल्लंघन हुन गएकोले तपाईंलाई निर्वाचन आचारसंहिताको दफा २३ को उपदफा (३) तथा उपदफा (४) बमोजिमको कारवाही किन गर्नु नपर्ने हो ? यो पत्र तपाईंलार्य कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा तपाईं उमेदवार रहेको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा आफैं उपस्थित भै वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण पेश गर्नुहुनु निर्णयअनुसार जानकारी गराइन्छ ।'
आयोगले अध्यक्ष नेपालकाे स्पष्टीकरण नआउँदै उनलाई कारबाही गर्न रौतहट प्रहरीलाई पत्र समेत पठाएको छ ।
आयोगले ‘फ्रि भिसा, फ्रि टिकट’ कै विषयमा पूर्व श्रममन्त्री एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ लाई बुधबार स्पष्टीकरण सोधेको थियाे ।
निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको भन्दै बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का पूर्वमन्त्री श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको हाे ।
श्रेष्ठले मतदाता प्रभावित पार्न परवानीपुरस्थित बिएस पार्टी प्यालेसमा आइतबार अन्तर्वार्ता राख्न लगाएकाे समाचार प्रकाशन भएकाे थियाे । श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठको निर्देशन बमोजिम ललितपुर–७ ग्वार्कोस्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले परवानीपुरमा मलेसिया जाने युवाहरुको अन्तर्वार्ता राखेको खबर बाहिरिएपछि निर्वाचन आयोगले यसबारे श्रेष्ठलाई स्पष्टीकरण साेधेकाे हाे ।
