
जनकपुरधाम- जनकपुरधाममा करेन्ट लागेर दुईजना युवकको मृत्यु भएको छ ।
दीपावलीका लागि घर सजाउनको लागि झिलिमिली बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर दुई युवकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-९ बेल्ही बस्ने सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादव र जनकपुरधाम-२२ बसबिट्टी बस्ने १९ वर्षीय अमित मिश्र रहेका छन् ।
आइतबार साँझ साढे ७ बजेको समयमा दीपावलीका लागि आफ्नो घरमा झिलिमिली बत्ती जोड्ने क्रममा शिवराजलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
त्यस्तै, जनकपुरधाम-२२ बसबिट्टीस्थित आफ्नो घरमा सोमबार दिउँसो झिलिमिली बत्ती जोडिरहेको बेला १९ वर्षीय अमित मिश्रलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका मिश्रको जनकपुरधाम-७ स्थित स्वस्तिका अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डीएसपी क्षेत्रीले बताए ।
मृतक दुबैजनाको शव पोष्टमार्टमपश्चात परिवारजनको जिम्मा लगाइएको धनुषा प्रहरीले जनाएको छ ।