
काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्र (वाचापत्र ) सार्वजनिक गरेको छ । पार्टीले आफ्नो घोषणापत्र (वाचापत्र ) मा कुनै पनि राजनीतिक दलमा नलागेका स्वतन्त्र नेपाली नागरिक राष्ट्रपति चुनिनुपर्ने उल्लेख गरेको छ ।
वाचापत्रमा जनउत्तरदायी प्रत्यक्ष जनसहभागितामूलक समावेशी लोकतन्त्रको माध्यमबाट व्यक्तिगत स्वतन्त्रता र मानवअधिकारको सम्मानसहितको संवैधानिक समाजवादमा समेत जोड दिइएको छ ।
सोही दिशामा मुलुकलाई अघि बढाउने सो पार्टीले प्रतिबद्धता जनाएको छ ।
यो पार्टीले विधिको शासन, सामाजिक न्यायसहितको समानता, योग्यता र कर्मशीलता, राष्ट्र निर्माणमा समर्पणता, भ्रष्टाचारप्रति शून्य सहनशीलता, प्रत्यक्ष सहभागितामूलक लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रता तथा मानवअधिकारको विषयमा पनि प्रतिबद्धता जनाएको छ ।
पार्टीको सार्वजनिक गरेको घोषणापत्र (वाचा पत्र)मा कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पुरा नभएको वंशजको नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरिएको छ ।