
काठमाडौं- मंसिर चार गते हुने निर्वाचनमा प्रतिनिधि सभाको १ सय ६५ क्षेत्रमध्ये ६० वटामा महिला उम्मेदवारको संख्या शून्य रहेको छ ।
मधेस प्रदेशमा महिलाको उम्मेदवारी कम परेको छ । मधेसका १५ वटा निर्वाचन क्षेत्रमा कुनै पनि महिलाले उम्मेदवारी दिएका छैनन् । यस्तै, बागमती प्रदेशका चार निर्वाचन क्षेत्रमा महिलाको उम्मेदवारी शून्य छ । राजनीतिक दलले प्रत्यक्ष निर्वाचनतर्फ महिलालाई टिकट दिन कन्जुस्याइँ गरेकाले नै सहभागिता कम भएको हो ।
प्रदेश-१ का ११ क्षेत्रमा महिला शून्य
प्रतिनिधिसभाका २८ क्षेत्र रहेको प्रदेश १ का ११ वटामा महिला उम्मेदवारको संख्या शून्य छ । एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटादेखि खोटाङ ताप्लेजुङ, संखुवासभा, भोजपुर र पाँचथर जिल्लामा महिलाको उम्मेदवारी नपरेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।
यस्तै, इलाम क्षेत्र नम्बर १ , मोरङ क्षेत्र नम्बर ४ र ६, झापा-३, तथा सुनसरी- ४ मा पनि महिलाको उम्मेदवारी परेको छैन । प्रदेश-१ मा सबैभन्दा धेरै मोरङमा ६ ओटा निर्वाचन क्षेत्र छन् ।
आगामी चुनावमा प्रदेश १, मा ३३ लाख ९६ हजार ८ सय ६५ जना मतदाता कायम भएका छन् । ति मध्ये १६ लाख ६७ हजार ७१ जना महिला छन् ।
मधेस प्रदेशका १५ क्षेत्रमा छैनन् महिला
मधेस प्रदेशका ३२ मध्ये झण्डै आधा १५ वटा निर्वाचन क्षेत्रमा महिलाको उम्मेदवारी परेको छैन । चारवटा क्षेत्र रहेको पर्सा जिल्लामै महिला उम्मेदवार छैनन् । रौतहटको २ र ३, सप्तरी ३, महोत्तरी २ र ४, बारा १, २ र ४ मा पनि महिलाको उम्मेदवारी परेको छैन । धनुषाको चारमध्ये १, २ र ४ मा पनि पुरुष-पुरुषबीच मात्रै प्रतिस्पर्धा हुँदै छ ।
मधेशमा १५ लाख ५८ हजार ७०४ महिला मतदाता छन् । तर आधा क्षेत्रमा महिला उम्मेदवार भने छैनन् ।
बागमतीका चार क्षेत्रमा पनि महिला छैनन्
संघीय राजधानी समेत रहेको बागमती प्रदेशका १३ जिल्लामा ३३ वटा प्रतिनिधिसभा क्षेत्र छन् । त्यसमध्ये चारवटा निर्वाचन क्षेत्रमा महिलाको उम्मेदवारी छैन ।
अन्य प्रदेशको तुलनामा यहाँ महिला उम्मेदवारको संख्या बढी छ । तर मकवानपुर २, धादिङ १, काभ्रेपलान्चोक २ र दोलखा १ मा महिला उम्मेदवारको संख्या शून्य छ ।
गण्डकी प्रदेश
१८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशका ६ वटा निर्वाचन क्षेत्रमा पुरुष उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा हुने भएको छ । ६ वटा निर्वाचन क्षेत्रमा महिलाको उम्मेदवारी परेको छैन ।
मनाङ, मुस्ताङ, बागलुङ १, लमजुङ १, गोरखा २, र नवलपरासी पूर्व २ मा महिला उम्मेदवार नभएकाले पुरुष–पुरुषबीच प्रतिस्पर्धा हुँदै छ ।
लुम्बिनी प्रदेशका ६ क्षेत्रमा महिला शून्य
लुम्बिनी प्रदेशमा प्रतिनिधिसभातर्फ २६ क्षेत्र छन् । ति मध्ये ६ वटा क्षेत्रमा महिलाको उम्मेदवारी परेको छैन । एउटा मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा महिलाको उम्मेदवारी परेको छैन । बर्दिया १ र २ , बाँके ३, पाल्पा १ र रुपन्देही ४ मा पनि महिला उम्मेदवार नरहेको निर्वाचन आयोगले जनाएको छ ।
कर्णालीका ३ वटामा मात्रै महिला उम्मेदवार
कर्णालीमा १२ वटा प्रतिनिधि सभा क्षेत्र छन् । ति मध्ये ३ वटामा मात्रै महिला उम्मेदवार छन् । अर्थात ९ वटा क्षेत्रमा महिला उम्मेदवारको संख्या शून्य छ ।
हुम्ला, डोल्पा, मुगु, दैलेख-१, जाजरकोट-१, रुकुमपश्चिम, सल्यान-१, कालिकोट र सुर्खेत-१ मा महिलाको उम्मेदवारी नपरेको निर्वाचन आयोगले जनाएको छ ।
सुदूरपश्चिममा पनि अवस्था उस्तै
१६ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा आधाभन्दा धेरैमा महिलाको उम्मेदवारी शून्य छ । नौ वटा निर्वाचन क्षेत्रमा पुरुष-पुरुषबीत्र प्रतिस्पर्धा हुँदैछ । बाजुरा, अछाम-१, बझाङ, डडेल्धुरा-१, कैलाली-२ र ४, दार्चुला, कञ्चनपुर-२ र बैतडी-१ मा महिलाको उम्मेदवारी नपरेको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ सिटमा देशभरबाट दुई हजार ४ सय ५२ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये महिला उम्मेदवारको संख्या २ सय २९ मात्रै छ । जुन ९.३३ प्रतिशत हो ।
