
निर्वाचनको मौन अवधि सुरु हुन केही घण्टा मात्र बाँकी छ । मौन अवधिमा प्रचार गर्न नपाइने भएकाले उम्मेदवार मतदाता भेटघाटको चटारोमा छन् । मधेस प्रदेशका अधिकांश क्षेत्रमा मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र एमाले गठबन्धनबीच हुने देखिन्छ।

अघिल्लो चुनावमा यहाँ मधेस केन्द्रित दल र वाम गठबन्धनले धेरै सिट जितेका थिए । तर, यसपटक भने प्रतिस्पर्धी फेरिएका छन् । मधेसमा एमालेले जनता समाजवादी पार्टी जसपासँग गठबन्धन गरेको छ। अर्को मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सत्तारुढ गठबन्धनसँग तालमेल गरेर चुनावी मैदानमा होमिएको छ ।
अघिल्लो चुनावमा ठूला मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा मिलेर चुनाव लडेका थिए। अहिले त्यही पृष्ठभूमिका दुई दल फरक-फरक गठबन्धनमा छन्। दुई गठबन्धनका कारण मधेसमा यसपालिको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।

धनुषा जिल्ला कोर मधेस प्रदेशमा पर्छ । यहाँको कुल जनसंख्या ७५४५२७ रहेको छ । यस जिल्लामा कुल ४ लाख ७४हजार ५८७ मतदाता रहेका छन् जसमा २ लाख ५२ हजार ९१५ जना पुरुष छन् भने २ लाख २१ हजार ६६५ जना महिला मतदाता छन् । यस जिल्लामा ४ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशसभाको निर्वाचन क्षेत्र ८ रहेका छन् ।
यहाँ कुल मतदान स्थल ३२७ रहेकोमा अति संवेदनशील मतदान स्थल २२२ र संवेदनशिल मतदान स्थल १०५ छन् भने कुल मतदान केन्द्र ५४८ रहेको धनुषा निर्वाचन कार्यालयले जनाएको छ।
धनुषा निर्वाचन क्षेत्र नंं १ मा कुलमतदाता १ लाख २ हजार ७१२ रहेको छ । जसमध्ये धनुषा १ (क) को कुल मतदाता ५३ हजार १४२ र धनुषा १ (ख) को कुल मतदाता ४९हजार ५७० रहेका छन् ।
यस क्षेत्रबाट माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री मातृकाप्रसाद यादव चुनावी प्रतिस्पर्धा हुनुहुन्छ। गत २०७४ सालको निर्वाचनमा तत्कालीन बाम गठबन्धनको उम्मेदवार भएर सो क्षेत्रबाट निर्वाचित हुनु भएका यादव यसपटक पाँच दलीय गठबन्धनबाट मैदान उत्रिनु भएको छ।
अघिल्लो निर्वाचनमा उहाँले २६ हजार चार सय १८ मत ल्याएर निर्वाचित हुँदा उहाँको निकटतम प्रतिद्वन्द्वी तत्कालीन सङ्घीय समाजवादी फोरमका दीपक कार्कीले १७ हजार दुई सय ९६ मत प्राप्त गर्नुभएको थियो । यसपटक पुनः यादव र कार्की चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। कार्की जनता समाजवादी पार्टीबाट उम्मेदवार बन्नु भएको छ।
एमालेले टिकट नदिएपछि किशोरी साह जनमत पार्टीबाट यसक्षेत्रमा उम्मेदवार बन्नुभएको छ। सो क्षेत्रमा यादव, कार्की र साहबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने स्थानीयको आँकलन छ।
गत स्थानीय चुनावमा विभिन्न पार्टीबाट वडाध्यक्ष पदमा उम्मेदवार बनेकाको मत जोड्दा कांग्रेसले १७ हजार ५५०, एमालेले १५ हजार ८१७, माओवादीले १२ हजार २९२ र जसपाले ९ हजार १० मत प्राप्त गरेका थिए । त्यस्तै लोसपाका उम्मेदवारले ६ हजार ६२४, राप्रपाले ४ हजार ९३०, जनमत पार्टीले ३ हजार ३२०, एकीकृत समाजवादीले २ हजार ९३७ र स्वतन्त्र उम्मेदवारले ३ हजार ३२४ मत पाएका थिए ।
धनुषा निर्वाचन क्षेत्र नंं २ मा कुलमतदाता १ लाख ६ हजार १०० रहेको छ । जसमध्ये धनुषा २ (क) को कुल मतदाता ५३ हजार ७४० र धनुषा २ (ख) को कुल मतदाता ५२ हजार ३६० रहेका छन् ।
धनुषा-२ मा पनि तीनजना पूर्वमन्त्री चुनावी मैदानमा छन्। कांग्रेसबाट रामकृष्ण यादव, एमालेबाट उमाशंकर अरगरिया र एकीकृत समाजवादीबाट रामचन्द्र झा सहित जसपाका गङ्गाराम यादव चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। गत निर्वाचनमा सङ्घीय समाजवादी फोरमबाट निर्वाचित अरगरियाले ३२ हजार ४४ मत ल्याएर जित्नु भएको थियो ।
माओवादी केन्द्रबाट उम्मेदवार भएका पूर्वमन्त्री झाले १८ हजार सात सय १५ मत प्राप्त गर्नुभएको थियो । पूर्वमन्त्री अरगरिया अहिले एमालेबाट उम्मेदवार बन्नु भएको छ । पूर्वमन्त्री झा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार बन्नु भएको छ। त्यसैले, यहाँ बहुपक्षिय प्रतिस्पर्धा हुने र कसले बाजी मार्छ भन्न नसकिने अवस्था छ । स्थानीय तहको चुनावमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत हेर्दा कांग्रेसको अवस्था बलियो देखिन्छ । कांग्रेसले २१ हजार २३२, जसपाले १३ हजार ८८९, एमालेले ११ हजार ५८३ र माओवादी केन्द्रले १० हजार ७९४ मत पाएको छ एकीकृत समाजवादीले ८ हजार ९९७, लोसपाले ६ हजार ७१३ र जनमत पार्टीले ४ हजार २८३ मत पाएको देखिन्छ ।
यदि माओवादी र लोसपाको पनि मत पाउन सकेमा कांग्रेस उम्मेदवारलाई अरुलाई भन्दा सहज देखिन्छ । माओवादी र लोसपमाको प्रतिनिधि सभाको लागि आफ्नो उम्मेदवार नभएको हुँदा यी दुई दलको साथ जसले पाउने हो उसको पल्ला भारी हुने अवस्था देखिएको छ।
धनुषा निर्वाचन क्षेत्र नंं ३ मा कुलमतदाता ९७ हजार ५०२ रहेको छ । जसमध्ये धनुषा ३ (क) को कुल मतदाता ५३ हजार ३५ र धनुषा ३ (ख) को कुल मतदाता ४४ हजार ४६७ रहेका छन् ।
धनुषा-३ मा एमाले नेत्री जुलीकुमारी महतो र लोसपा वरिष्ठ नेता अनिल झा बीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। मधेश प्रदेशको राजधानी जनकपुरधाम समेत रहेको सो क्षेत्रमा झा नयाँ अनुहार हुनुहुन्छ । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा महतो कांग्रेस नेता विमलेन्द्र निधिसँग पराजित भएका हुनु भएको थियो ।
०७४ सालको निर्वाचनमा कांग्रेस नेता निधि लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग यो क्षेत्रमा पराजित हुनु भएको थियो। यसपटक निधि समानुपातिकमा हुनुहुन्छ । लोसपा वरिष्ठ नेता महतो आफ्नै गृह जिल्ला सर्लाही २ बाट चुनाव लड्दै हुनुहुन्छ ।
जुली र अनिल कै बीचमा मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।
गत स्थानीय तहको नतिजा हेर्ने हो भने यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ भने दोस्रोमा एमाले छ । क्षेत्रभित्रको ३८ मध्ये आधा अर्थात् १९ वटा वडा एक्लै कांग्रेसले जितेको छ । दोस्रो स्थानमा एमालेले ११, जसपाले ४, लोसपाले ३ र नेकपा एकीकृत समाजवादीले १ वडामा जित निकालेको छ ।
यसरी हेर्दा कांग्रेस, लोसपा र नेकपा एकीकृत गरी जम्मा २३ वडा जितेको छ भने एमाले र जसपा गरी १५ वटा वडामा जितेको छ । स्थानीय चुनावमा ३८ वटा वडाको वडाध्यक्ष पदमा पार्टीहरूले पाएको मत जोड्ने हो भने पहिलो स्थानमा कांग्रेस देखिन्छ । कांग्रेसको २२ हजार ४२९ मत छ । दोस्रोमा एमालेको १६ हजार १६ मत छ । जसपाले ८ हजार २२४ र लोसपाले १ हजार १६३ मत प्राप्त गरेको छ ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीले ३ हजार ७१३ र सबभन्दा कम नेकपा माओवादी केन्द्रले ६५६ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकमा छ । कुल मत जोड्दा पाँचदलीय गठबन्धनको २७ हजार ९ सय ६१ रहेको छ भने एमाले र जसपाको मत जोड्दा २४ हजार २ सय ४० अर्थात् सत्तागठबन्धन बलियो देखिन्छ । यही अवस्थामा मत खस्ने हो भने सत्तागठबन्धनका उम्मेदवारहरूको जित्ने आधार बलियो देखिन्छ ।
चुनावमा कांग्रेसको तर्फबाट अन्तर्घात नभए झाले जित्ने विश्लेषकहरु बताउनुहुन्छ।
धनुषा निर्वाचन क्षेत्र नंं ४ मा कुलमतदाता ९८ हजार ३६० रहेको छ । जसमध्ये धनुषा ४ (क) को कुल मतदाता ४७ हजार ७१८ र धनुषा ३ (ख) को कुल मतदाता ५० हजार ६४२ रहेका छन् ।
धनुषा-४ मा कांग्रेस र एमालेका दुई ठूला नेता मुख्य प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसका सह-महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री रघुवीर महासेठको उम्मेदवारी छ । ०७४ को निर्वाचनमा पनि दुवै जना चुनावी मैदानमा उत्रिनु भएको थियो ।
त्यसबेला, महासेठले यादवलाई पराजित गर्नुभएको थियो। पुनः दुवै नेता एउटै क्षेत्रमा आम्ने साम्ने भएपछि चुनावी सरगर्मी बढेको छ । यसपटक राजनीतिक समीकरण फेरिएकाले महासेठलाई चुनाव जित्न सहज छैन ।
वैशाख ३० गते सम्पन्न स्थानीयतहको चुनावको मतभार अनुसार विश्लेषण गरिने हो भने यो क्षेत्रमा काँग्रेस बलियो देखिन्छ ।
यो क्षेत्रमा पर्ने ४२ वटा वडामा पार्टीका वडाध्यक्षहरुले पाएको मतको आधारमा थोरबहुत कम बढी काँग्रेस र एमालेको शक्ति उस्ताउस्तै देखिन्छ ।
यद्यपी काँग्रेस पहिलो दलको रुपमा छ । थोरै मात्र मतले एमाले दोश्रोमा छ ।
काँग्रेसले २६ हजार १५९ र एमालेले २४ हजार ३९४ मत पाएको छ । तेश्रोमा जसपाले ८ हजार ३८८, चौथोमा एकीकृत समाजवादीले ८ हजार १६४ र क्रमशः माओवादी केन्द्रले ४ हजार ४८५, लोसपाले २ हजार २८४ र जनमत पार्टीले १९५० मत पाएको चुनावी तथ्यांक छ ।
यसरी गत स्थानीय चुनावी मतको आधारमा सत्ता गठबन्धनका उम्मेदवार महेन्द्र अन्य भन्दा बलिया देखिनु हुन्छ।
काँग्रेस, समाजवादी, माओवादी र लोसपाको मत जोड्ने हो भने ४० हजार ९९२ मत सत्ता गठबन्धनसंग रहेको देखिन्छ ।
यसरी स्थानीय तहकै आधार मत खस्ने हो धनुषाको चार वटै निर्वाचन क्षेत्रमा सत्तागठबन्धनका उम्मेदवारहरुको अवस्था बलियो देखिएको छ। यद्यपी चुनावको मतपरिणाम नआए सम्म ठ्याक्कै भन्न गाह्रो छ।