महोत्तरी- महोत्तरी जलेश्वरमा प्रभातफेरिको आयोजना गरि लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको सुरुवात गरिएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजना तथा फ्रिडम पर अर नेपाल, इन्सेक, वोरेक नेपाल, टिपीओ नेपाल, स्पर्श, जिल्ला प्रहरी कार्यालय, आरवाईसी, युवा संजाल लगायत विभिन्न संघसंस्थाको सम्वन्यमा आयोजना गरिएको उक्त प्रभात फेरि जलेश्वरको महेन्द्र चोकबाट सुरु गरि नगरपरिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयको प्रांगनमा आई कोण सभामा परिणत भएको थियो।
“सभ्य समाजको पहिचान ः लैंगिक हिंसा विरुद्धको अभियान” भन्ने राष्ट्रिय नाराका साथ मंसीर ९ गते देखि संचालन गरिएको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत आज आयोजित प्रभात फेरि पछिको कोण सभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले विपत होस कि सामान्य अवस्था होस महिलाहरुले हिंसा भोग्नु परेको बताउनुभयो ।
उहाँले हिंसाविरुद्धको अभियानमा महिलामात्र नभई पुरुषको ऐक्यवद्धता उत्तिकै जरुरी रहेको बताउनुभयो।
कार्यक्रममा एसपी कृष्ण पंगेनीले हिंसा सहेर र हेरेर नबसी, बेलैमा उजुरी गर्नु पर्ने बताउनुभयो । उहाँले लैंगिक हिंसा सम्बन्धि कुनै उजुरी वा सूचना दिनुपरेमा नेपाल प्रहरीको १०० वा बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ नम्बरमा सम्पर्क गर्न सकिने जानकारी दिनुभयो ।
१६ दिने अभियान बारे जानकारी दिंदै ‘Unite ! Activis To End Violence Against Women and Girls’ भन्ने अन्तर्राष्ट्रिय नाराको आधारमा उक्त राष्ट्रिय नारा तय गरी १६ दिनको अवधिभर कार्यक्रम संचालन गरिने छ ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विभिन्न कार्यक्रमहरु गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउने गरिएको सन्दर्भमा नेपालमा पनि यो अभियान विभिन्न कार्यक्रम गरी संचालन गरिने गरेको छ।
वोरेक नेपालका महोत्तरी कार्यक्रम अधिकृत लिला दियालीले संचालन गर्नुभएको उक्त कार्यक्रममा महिला मानव अधिकार रक्षक संजालका काजल नागवंशीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा सहभागी विभिन्न संघसंस्था प्रतिनिधि, अभियानकर्मी, अधिकारर्मी, संचारकर्मी लगायतले अभियान संचालन गर्न आ-आफ्नोतर्फबाट साझा प्रतिबद्धता तथा ऐक्यबद्धता जनाएका थिए ।
सोहि अवसरमा टिपिओ नेपालको आयोजनामा जलेश्वर स्थित आदर्श महिला माविमा लैंगिक हिंसा विरुद्ध बारे छात्राहरुलाई अभिमुखिकरण समेत गरिएको थियो । छात्राहरुलाई लैंगिक हिंसा बारेमा त्यसबाट बच्ने उपाय तथा हिंसा परेका पछिको कानुनी उपचार लगायतको सम्बन्धमा वोरेक महोत्तरीकी कार्यक्रम अधिकृत लिला दियालीले अभिमुखिकरण गर्नुभएको थियो ।