
प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका पाँच जनाले जितेका छन् । प्रतिनिधिसभाका १ सय ६५ सिटका लागि ८ सय ६७ स्वतन्त्र उम्मेदवार थिए । प्रदेशसभामा भने हालसम्म ११ जना विजयी भएका छन् । प्रदेशतर्फ ३ सय ३० सिटमा १ हजार ९४ स्वतन्त्र उम्मेदवार थिए ।
प्रतिनिधिसभातर्फ मोरङ–५ मा योगेन्द्र मण्डल, सर्लाही–४ मा अमरेशकुमार सिंह, रौतहट–२ मा किरण साह, रौतहट–३ मा प्रभु साह र बर्दिया–२ मा लालवीर चौधरी विजयी भएका छन् ।
मोरङ–५ मा योगेन्द्रले माओवादीका शिवकुमार मण्डल र जसपाका राजकुमार यादवलाई पराजित गरेका हुन् । उनले २१ हजार ८ सय २० मत ल्याउँदा शिवकुमारले १७ हजार ४ सय ८६ र राजकुमारले १७ हजार ३ सय ९० मत पाए । शिवकुमारलाई सत्ता गठबन्धनको र राजकुमारलाई एमालेको साथ थियो । योगेन्द्रलाई एमालेले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको थियो तर अन्तिम समयमा जसपासँग तालमेल हुँदा उक्त क्षेत्र जसपाको भागमा परेपछि मण्डलले बागी उम्मेदवारी दिएका थिए ।
कांग्रेस र एमालेको उम्मेदवार नहुँदाको लाभ योगेन्द्रले पाए । धनपालथान गाउँपालिका–२ का बासिन्दा उनी मुलुककै ठूलो लघुवित्त संस्थामध्येको जीवन विकास समाजका सञ्चालक हुन् ।
कांग्रेसबाट टिकट नपाएपछि सर्लाही–४ मा बागी उम्मेदवारी दिएका सिंह २० हजार १७ मत ल्याएर विजयी भएका हुन् । उनले कांग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्र कुमारलाई १ हजार ७ सय ६५ मतान्तरले पराजित गरे । नागेन्द्रले १८ हजार २ सय ५२ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवारी दिएकी मधुमालाकुमारी यादवले १४ हजार ६ सय २२ मत प्राप्त गरिन् । नागेन्द्रलाई सत्ता गठबन्धनको समेत सहयोग थियो ।
रौतहट–२ मा साहले कांग्रेसका फिरदोस आलमलाई ४ हजार ५ सय ९४ मतान्तरले पराजित गरेका हुन् । साहले ३२ हजार ८ सय ४२ मत ल्याउँदा आलमले २८ हजार २ सय ४८ मत पाए । मुस्लिम बहुल उक्त क्षेत्रमा जित्ने मुस्लिम समुदायबाहिरका साह पहिलो उम्मेदवार हुन् । उनका प्रतिस्पर्धी आलम कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमका जेठा छोरा हुन् । लामो समय माओवादीमा राजनीति गरेका साह मधेसकेन्द्रित दल हुँदै केही समयअघि एमाले प्रवेश गरेका थिए । पार्टीले टिकट नदिएको र उनको क्षेत्र जसपाको भागमा परेपछि साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनी क्षेत्र ३ का स्वतन्त्र उम्मेदवार प्रभु साह समूहका हुन् ।
प्रभुले नै उनलाई स्वतन्त्रमा उम्मेदवारी दिन लगाएका हुन् । जसपाका शैलेन्द्र साहले भने २ हजार १ सय ४२ मत मात्रै पाए । एमालेका मधेस प्रदेश सदस्यसमेत रहेका शैलेन्द्रले जसपाबाट टिकट लिएर चुनाव लडेका थिए । उनले अन्तिम समयमा किरणलाई समर्थन गरेका थिए । किरण ०७४ को संसदीय चुनावमा पूर्वमन्त्री आलमसँग १ हजार ५ सय ५५ मतले पराजित भएका थिए । रौतहट–३ मा साहले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २ सय ३७ मतान्तरले पराजित गरेका हुन् । साहले ०६४ देखि यही क्षेत्रबाट निरन्तर जित्दै आएका छन् । उनको यो चौथो जित हो । उनले ३२ हजार ४ सय ३७ मत पाउँदा जैसवालले २५ हजार २ सय मत ल्याएका थिए । एमालेका तत्कालीन स्थायी समिति सदस्य साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई सत्ता गठबन्धनले साथ दिएको थियो तर साहका कार्यकर्ताले गठबन्धनले धोका दिएको आरोप लगाएका छन् । मधेस प्रदेशका आठ जिल्लामा जसपाको भागमा परेको प्रतिनिधिसभाका ८ र प्रदेशसभाका १७ निर्वाचन क्षेत्रमा साहले आफ्नो टिमबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
बर्दिया–२ मा चौधरीले माओवादीका सुरेश पन्थलाई १ सय ३६ मतले पराजित गरेका हुन् । उनले २६ हजार ५ सय २० मत पाउँदा पन्थ २६ हजार ३ सय ८४ मतमा रोकिएका थिए । लालवीर नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीका बाबु हुन् । उक्त क्षेत्रमा नागरिक उन्मुक्तिले टीकापुर घटनामा अदालतले दोषी ठहर्याएपछि कारागारमा रहेका पूर्वसांसद रेशम चौधरीलाई उम्मेदवार बनाएको थियो । तर, उनको उम्मेदवारी खारेज हुन सक्ने जोखिम देखेपछि पार्टीले पहिले नै लालवीरको स्वतन्त्र उम्मेदवारी दर्ता गराएको थियो ।