
धनुषा- जनकपुरकी आरती साहलाई श्रीमान्ले एसिड प्रहार गरेको घटनामा एसिड बिक्रेतालाई सफाइ दिएको धनुषा जिल्ला अदालतको फैसला विरुद्व सरकारी वकीलको कार्यालयले पुनरावेदन गर्ने भएको छ । सोमवार जिल्ला अदालत धनुषाले आफ्नी श्रीमती आरती साहमाथि एसिड प्रहार गर्ने जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाका सञ्जीव साहलाई दोषी ठहर गरे पनि बिना लाइसेन्स एसिड बेच्ने बिक्रेता नागेन्द्र साहलाई सफाइ दिने फैसला सुनाएको छ ।
मुख्य जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जिल्ला अदालतको यसे फैसला विरुद्व उच्च अदालतमा पुनरावेदन गरिने बताउनुभयो । उहाँले सफाइ पाएकाको हकमा फैसला तयार भएर आए लगत्तै पुनरावेदन गरिने जनाउनुभयो । मुख्य न्यायाधिवक्ता अर्यालले भन्नुभयो, ‘अहिलेको कसूर निर्धारण तथा सजाय ऐन २०७४ का अनुसार तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा पहिला कसूर ठहर गर्नुपछर्। त्यसपछि सजाय निर्धारण गर्नुपर्ने भएकाले यो फैसला आएको हो ।’ उनले दोषी ठहर भएकाको हकमा आफूहरुको दाबी १५ वर्ष ६ महिना कैद नै हुनुपर्छ भन्ने रहेको जानकारी दिनुभयो ।
यता एसिड बेच्नेलाई सफाइ दिएको फैसलाप्रति आपत्ति जनाउन अदालत पुगेकी आरती साह प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।गत कात्तिक २९ गते दीपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका-७ स्थित ससुरालीमा गएर सञ्जीवले श्रीमती आरती साह र छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।