
महोत्तरी - महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महेन्द्र राय यादवले प्रतिनिधिसभामा आफ्नो उपस्थिती आम मतदाताको प्रतिनिधित्व भएको बताएका छन् ।
आफूमात्रै उम्मेदवार नभई सबै मतदाताहरु उम्मेदवार रहेको र अहिलेको जित पनि आफ्नो मात्रै नभई सबै मतदाताको जित भएको बताए । आफ्नो विजयी पश्चात मतदाता तथा शुभेच्छुकहरुलाई धन्यवाद दिँदै राय यादवले भने , "यो मेरो व्यक्तिगत जित हैन, तपाई हामी सबै मतदाताहरुको जित हो ।"
चुनावका क्रममा आफूले गरेका प्रतिवद्धता कार्यान्वयन गर्न आफू कदापी नचुक्ने राय यादवले उल्लेख गरेका छन् ।
आम नागरिकका मौलिक अधिकार प्राप्तीका लागि आफू जनप्रतिनिधि बनेको भन्दै उनले भने , "म आम नागरिकका मौलिक अधिकार प्राप्तीका लागि जनप्रतिनिधि बनेको हुँ, मेरो अबको मुख्य अभिभारा भनेको नागरिकको मौलिक अधिकार प्राप्ती नै हो, यसका लागि म सशक्त रुपमा लड्छु ।"
उनले आम मतदाताहरुको मनोभाव अनुसार मतदाताहरुलाई न्याय दिलाउनेमा आफू प्रतिवद्ध रहेको भन्दै प्रतिवद्धताबाट किमार्थ नचुक्ने समेत बताए ।










