महोत्तरी। दाइजोकै निहुँमा श्रीमती (नेहा चाैधरी)लाई कुटपिट गरी घरबाट निकाला गरेका डा. पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरीको रामगोपालपुर ५ का ३५ वर्षीय डा. पंकजलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पङ्गेनीले बताए।
उनीविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्धका मुद्दा चलाइनेछ। आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। अहिले डा. पंकजलाई जिल्ला प्रहरी कार्यालय जलेश्वरको हिरासतमा राखिएको छ। नेहाले भने आफूलाई कुटपिट गरी घर निकाला सासू र ससुराको पनि संलग्नता रहेकाले उनीहरूलाई पनि पक्राउ गर्नुपर्ने माग गरेकी छन्।
काठमाडौंमा घर दाइजो नपाएको भन्दै डाक्टरले नै गरे श्रीमतीलाई कुटपिट
मंगलबार दिउँसो डा. पंकजको घरमा बस्न उनकी श्रीमती नेहा चाैधरी पुगेकी थिइन्। तर घरमा पस्न नदिएपछि नेहा गेट अगाडी धर्ना बसिन। त्यसपछि प्रहरीले उनका श्रीमान् डा. पंकजलाई पक्राउ गरेको बुझिएको छ।
डा. पंकज पक्राउ परेपछि उनका परिवारका सबै फरार भएका छन्। अहिले घरको गेटमा ताला झुन्डिएको छ। गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच विवाह भएको थियो।
विवाहमा नेहाका परिवारले नगद र सुनचाँदी गरी १ करोड बढी रुपैयाँ दाइजो दिएको थियो। पंकजले काठमाडौंमा घर दाइजो नपाएको भन्दै श्रीमती नेहालाई कुटपिट गर्दै आएका थिए।




