जनकपुरमा एक साताभित्रै दुईजना युवतिको शव फेला परेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ स्थित युवतिको लास फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता गणेश बहादुर बमका अनुसार घटना गएराति नै भएको र बिहान स्थानीयहरुले खवर गरेको हो । जनकपुरधाम १७ तेतरिया बजारदेखि पौडेश्वर जाने शहिदपथमा तेतरियाभन्दा केही मिटर पूर्व रहेको सोही वडाको कनकपटिट् जाने बाटोस्थित युवति मृत अवस्थामा फेला परेको हो ।
प्रहरीका अनुसार, उनको घाँटीमा शल बेरिएर थिचिएको हो । उनको घाँटीमा सल वा गम्छाले थिचेर मारेको हुन सक्ने आशंका गरिएको छ । नाम, ठेगाना नखुलेको ती युवतिसँगै एक लेडिज ब्याग समेत रहेको छ । जिन्स र कुर्ती लगाएकी युवति अन्दाजी २२ बर्षिय देखिन्छन् । उनको पहिचान अझै नखुलेको प्रवक्ता बमले जानकारी दिए । स्थानीयहरु खेतमा जाँदा बिहान ९ः३० बजेतर्फ प्रहरीलाई खवर गरेकोमा प्रहरी घटनास्थल पुगेर मुचुल्का गरिरहेको जनाइएको छ ।
यो घटनाबारे थप विवरण आउन बाँकी छ । गत शुक्रबार मात्र पौडेश्वरदेखि परवाहा जाने बाटोमा एक युवतिको बेबारिसे शव फेला परेको थियो । उनको अझै पहिचान खुल्न सकेको छैनन् । उनलाई पनि हत्या गरी फालिएको प्रहरीले जनाएको छ ।


