सर्लाही - सर्लाहीको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ गोली चलेको छ ।
गोली लागेर सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साह घाइते भएका छन् । काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका थिए ।
साथीहरुसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ ७ बजेतिर साहमाथि गोली प्रहार भएको हो । पाखुरामा एक गोली लागेर घाइते साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
साहको अवस्था सामान्य छ । घटनामा संलग्नमध्ये रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता विजय यादवले घटनाको अनुसन्धान भइरहेको बताए । घटनाका सम्वन्धमा थप विवरण आउन बाँकी छ ।




