जनकपुरधाम- महोत्तरीको पिपरा गाउँपालिकाबाट अपहरणमा परेका एक व्यक्तिलाई मधेश प्रदेश प्रहरीले उद्धार गरेको छ । काठमाडौँमा मैन पावर चलाउँदै आएको सिरहाको लहानका ईसर सिद्दकीलाई मधेश प्रदेश प्रहरीको प्रहरी निरिक्षक उमाशंकर साहको नेतृत्वको टोलीले उद्धार गरेको हो ।
काठमाडौँमा मैनपावर चलाउँदै आएका सिद्धकी जनकपुरधाम आउँदा पुस ९ गते अपहरणमा परेका थिए । उनको अपहरणमा संलग्न भारत बिहारका मधुवनी जिल्ला बेतहा पर्साका मोहम्मद मुख्तार शेषलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सिद्धकीलाई विदेश पठाई दिनका लागि महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोर्वामा बोलाएर शेषले अपहरण गरेका थिए । सिद्धकीको ससुराली समेत रहेको बेतहा पर्साका शेषसंग पुरानो लेनदेन विवाद रहेको थियो । सिद्धकीले शेषसंग ५ लाख रुपैयाँ सापटी लिएर फिर्ता नगरेपछि शेषले अपहरणको योजना बनाएको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शेषले सिद्धकीलाई अपहरण गरेर फिरौतीका लागि २५ लाख रुपैयाँको माग गरेका थिए । अपहरणमा परे लगत्तै प्रहरी निरिक्षक साहको कमाण्डमा खटेको टोलीले फिरौतीको रकम ९ लाख सहित सिद्धकीलाई उद्धार गर्न सफल भएको थियो ।
पक्राउ परेका भारतीय नागरिक शेषलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ ।