- विशाल बस्नेत
महोत्तरी । योगकुमार माध्यमिक विद्यालय बल्वाका प्रधानाध्यापक मुनेन्द्र झाविरुद्ध कक्षा– ११ र १२ मा अध्ययनरत छात्राहरूले गुनासो गर्दा सुरुमा शिक्षकहरूले पत्याउनै सकेनन्। प्रधानाध्यापक झाले छात्राहरूको पिठ्युँ, पेटलगायत सम्वेदनशील अङ्गहरूमा छाम्ने, समाउनेजस्ता गुनासाहरू छात्राहरूले गरेका थिए।
त्यसपछि पनि छात्राहरूले आरोप लगाउने क्रम नरोकिएपछि विद्यालयका शिक्षकहरूले प्रधानाध्यापक झालाई सम्झाउन थाले। १ महिना अगाडि त्यस्तै आरोपसहित कक्षा–९ र १० मा अध्ययनरत छात्राहरूले विद्यालय प्रशासनमा मौखिक उजुरी लिएर पुगेपछि शिक्षक, कर्मचारीहरूको ध्यानाकर्षण भयो।



शिक्षा शाखा र नगर प्रमुख समक्ष शिक्षकहरूले लिखित उजुरी बोकेर नगर कार्यापालिकाको कार्यालयमा पुगे तर त्यसको कुनै छानबिन हुन सकेन । यतिसम्म कि उक्त निवेदन दर्ता गर्नमा नै झण्डै २२ दिन लाग्यो ।
२५ मङ्सिरमा नगर कार्यपालिकामा छाडेको निवेदन १२ पुसमा दर्ता भएको छ । नगर प्रमुख रामविजय महतोले यौन दुव्र्यवहारको कुनै पनि शब्द उल्लेख नगरी कारबाही माग गर्दै निवेदन लेख्न भनेपछि शिक्षकहरूले सोहीअनुसार निवेदन दिएका थिए ।
कसरी बाहिर आयो घटना ?
बल्वाकै स्थानीय रामकलेवर महतो सोही विद्यालयमा कोचिङ पढाउने गर्छन् । पहिले पनि प्रधानाध्यापक झाले कक्षा– ११ र १२ का छात्राहरूलाई यौन दुव्र्यवहार गरेको गुनासो बाहिर आएको थियो।रामकलेवर महतोलाई त्यसबेला त्यति विश्वास नै लागेन । तर, कोचिङ लिँदा विद्यार्थीहरूले जब बाक्लै गुनासो गर्न थाले, तब महतोले यसप्रति चासो देखाउन थाले।
‘मलाई सुरुमा अनिता (नाम परिवर्तन)ले भनिन् । त्यसपछि २०–२२ जना छात्राहरूले पनि उस्तै गुनासो गर्न थाले’, महतोले भने, ‘त्यसपछि छात्राहरू डराएको जस्तो गर्न थाले, अभिभावकहरूले समेत विद्यालय नजानू भनेको छ भनेपछि मैले अरू सरहरूलाई पनि कुरा गरेँ ।’
महतोले छात्राहरूलाई सशक्त प्रतिकार गर्न र यस विषयमा निवेदन दिन भनेपछि उनीहरूको मनोबल बढ्दै गयो । छात्राहरूले विद्यालय प्रशासनमा निवेदन लिएर गएपछि शिक्षकहरूले प्रधानाध्यापक झाको विरोध मात्र गरेनन्, प्रधानाध्यापकबाट हटाउनुपर्नेदेखि सरुवा गर्नुपर्नेसमेत माग राखे । सोही विद्यालयमा अङ्ग्रेजी विषय पढाउने शिक्षक शोभालाल यादवले विद्यार्थीहरूको सामूहिक गुनासो बोकेर जिल्ला समन्वय शिक्षा एकाइ र नगरको शिक्षा शाखामा समेत पुगिसकेको बताए ।
‘शिक्षकहरूले बोकेर गएको निवेदन सुरुमा दर्ता भएन, त्यसपछि हामीले निरन्तर दबाब दियौँ, तब मात्र नगर प्रमुख निवेदन लिन तयार भए’, उनले भने । छात्राहरू पहिले जसरी बोल्थे, अहिले त्यसरी बोल्न सकेका छैनन् । साता दिनदेखि मौन बसेका छन् । कसैले प्रधानाध्यापक झाको विषयमा सोध्दा उनीहरू बोल्दैनन्। स्थानीयका अनुसार प्रधानाध्यापक झाले छात्राहरूको घरघरमा पुगेर माफी माग्नेदेखि नबोल्न दबाब दिइरहेका छन् ।
कोचिङ पढाउने महतो भन्छन्, ‘आजभोलि सायद दबाब भएर हो, छात्राहरू कम बोल्छन्।’ छात्राहरूलाई प्रधानाध्यापक झाले गरेको यौन दुव्र्यवहारसम्बन्धी भिडियो बयान शिक्षा शाखाका शिक्षा अधिकृत रामविनय यादवले समेत लिएका बुझिएको छ।
सोही भिडियोलाई प्रमाणका रूपमा देखाउँदासमेत नगर प्रमुख महतोले आरोप लागेका प्रधानाध्यापक झालाई बचाउन खोजेको आरोप लागेको छ। नगर प्रमुख महतोलाई द नेपालटपले सम्पर्क गरी सोध्दा प्रधानाध्यापक झाले दुव्र्यवहार गरेको पाइएको बताए । प्रधानाध्यापक झामाथि विद्यार्थीहरूको गुनासो बढ्न थालेपछि छानबिन प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।
‘प्रधानध्यापक झाको व्यवहार नै राम्रो छैन’
विद्यालयका अर्का शिक्षक नितेन्द्र कर्ण प्रधानाध्यापक झाको बानी, व्यवहार नै फरक भएको बताउँछन्। छात्राहरूले सामूहिक रूपमा प्रधानाध्यापक झाले यौन दुव्र्यवहार गरेको गुनासो राखेपछि सबै शिक्षकहरू भएर सम्झाएको उनले बताए। उनले भने, ‘छात्राहरूबाट आपत्तिजनक गुनासो आउन थालेपछि हामीले उहाँ (प्रधानाध्यापक)लाई निकै सम्झायौँ तर उहाँले त्यसपछि पनि उही व्यवहार दोहोर्याउनुभएछ।’
शिक्षकहरूले यस विषयमा सोही वडाका वडाध्यक्ष वैधनाथ झासँग पनि छलफल भएको बताएका छन्। धेरैजसो शिक्षकहरू स्थानीय नै छन्। शिक्षकहरूको केही निश्चित स्वार्थका लागि प्रधानाध्यापकलाई आरोप लगाएको हो कि भन्ने विषयमा द नेपालटपले खोजीसमेत गरेको छ। तर, प्रधानाध्यापकलाई हटाउन वा सरुवा गर्न शिक्षकहरू विरुद्धमा लागिपरेका विषयमा कुनै तथ्यहरू फेला परेनन्।
प्रधानाध्यापक झाले यसअघि सीतापुर माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएर काम गरेको पाइएको छ। सो विद्यालयमा पनि यस्तै आरोप लागेपछि उनले सोही ठाउँको हरिणमरिणस्थित विद्यालयमा प्रधानाध्यापककै हैसियतमा छोटो अवधि काम गरेका देखिन्छ।
हरिणमरिणमा पनि शिक्षक, कर्मचारीहरूबीच विवाद सिर्जना भएपछि उनी बल्वा नगरपालिकाको वडा– ६ स्थित यो योगकुमार माध्यमिक विद्यालयमा प्रधानध्यापकको भूमिकामा काम गरिरहेका छन्।
आउनासाथ अनियमितताको आरोप
जिल्लाकै सबैभन्दा पुरानो मानिने यो विद्यालय नमुना विद्यालयअन्तर्गत परेपछि भौतिक पूर्वाधार निर्माणका लागि १ करोड रुपैयाँ बजेट परेको थियो। विद्यालयमा थप भवन बनाए तापनि कमसल सामग्री प्रयोग गरेर अनियमितता गरेको आरोप प्रधानाध्यापक झामाथि लागेको छ।
प्रधानध्यापक झाले यसअघि सीतापुरमा रहँदा पनि अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको थियो। अहिले यस विद्यालयवाट समेत तलब, भत्ताबाहेक उनले अतिरिक्त कक्षा लिएको भन्दै २३ हजार रुपैयाँ अतिरिक्त पैसा लिँदै आएका बताइएको छ। विद्यालयका शिक्षक नितेन्द्र कर्ण र गौरव श्रेष्ठले महोत्तरीकै जेठो विद्यालय प्रधानाध्यापक झाका कारण बदनाम बन्दै गएको आरोप लगाए ।
के भन्छन् प्रधानाध्यापक झा ?
प्रधानाध्यापक झाले छात्राहरूले आरोप लगाएजस्तो नभएको जिकिर गरेका छन् । फसाउनका लागि शिक्षक र कर्मचारीबाटै षड्यन्त्र भइरहेको बताउँदै उनले त्यस्तो आरोप पूर्ण रूपमा कपोल्कल्पित र फसाउने अभियानअन्तर्गतको जालझेल भएको दाबी गरे।
आफ्नो पेसा अवधिभर आजसम्म यौन दुव्र्यवहार नगरेको दाबी गर्दै सबै छात्राहरूलाई आफूले छोरी सरह हेर्ने गरेको झाले बताए।




