
जनकपुरधाम- सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ मा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनालाई रद्द गरी माघ २० गतेभित्र पुनः मतगणना गर्न अदालतले आदेश दिएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए।
शुक्रबार न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले सो आदेश दिएको हो।
‘गन्नुपर्ने मत गनिएन, सदर गर्नुपर्ने मत बदर गरियो भन्ने कुरा उठ्यो। मतान्तर पनि एक मतको मात्र देखिएपछि बेन्च कन्भिन्स भएर पुनः मतगणनाको आदेश दिइएको हो,’रजिष्ट्रार अधिकारीले भने।
निर्वाचन अधिकृतको कार्यालय हरिवनले गरेको गणना अनुसार यहाँबाट वडाध्यक्षमा नेकपा एमालेका निरध्वज कार्की एक मतले निर्वाचित भएका थिए।
निर्वाचन आयोगका अनुसार कार्कीले ३७९ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टीकाजंग थापा (अशोक) ले ३७८ मत पाएका छन्।
थापाले मतगणनामा धाँधली गरिएको भन्दै तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको माग गर्दै रिट दायर गरेका थिए। रजिष्ट्रार अधिकारीका अनुसार मतपत्र अदालतमै झिकाएर पुनः गणना गरिनेछ।