काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विगतदेखि नै अदालतले न्याय दिँदै आएको र अहिले पनि अदालतकै कारण नेपाल फर्कन सफल भएको बताएका छन्।
काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित कांग्रेस इतर समूहको राष्ट्रिय भेलाको बन्दसत्रमा सम्बोधन गर्दै देउवाले विमानस्थलदेखि आफूलाई प्राप्त उत्साहजनक स्वागत र समर्थनका लागि कार्यकर्तालाई धन्यवाद दिए।



पछिल्लो समय आफूविरुद्ध जारी पक्राउ पुर्जी तथा अन्तर्राष्ट्रियस्तरमा रेड नोटिस जारी गर्ने प्रयासतर्फ संकेत गर्दै देउवाले पञ्चायतकालदेखि नै न्यायालयले आफूलाई न्याय दिएको स्मरण गरे। उनले राजाको शासनका बेला गठन भएको शाही आयोग खारेज गरेर समेत अदालतले आफूलाई न्याय दिएको भन्दै न्यायालयप्रति आभार व्यक्त गरे।
पार्टीभित्रको पछिल्लो विवाद र विशेष महाधिवेशनबारे पनि देउवाले आफ्नो धारणा राखे। सबै पक्षको सहमतिमा विशेष महाधिवेशन गर्ने भनिए पनि बलजफ्ती रूपमा महाधिवेशन आयोजना गरी निष्ठावान् धेरै नेताकार्यकर्तालाई अन्यायपूर्वक बाहिर पारिएको उनको आरोप थियो।
विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले आफूले यस विषयमा धेरै टिप्पणी नगर्ने उनले बताए। अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।
सम्बोधनका क्रममा देउवाले धार्मिक स्वतन्त्रता र आफ्नो व्यक्तिगत आस्थाबारे पनि धारणा राखे। आफू पशुपतिनाथको पूजा गर्ने हिन्दु भएको उल्लेख गर्दै उनले बुद्ध धर्मलाई वैज्ञानिक धर्मका रूपमा सम्मान गर्ने तथा किरात समुदायको प्रकृति पूजा परम्पराप्रति पनि आफ्नो सम्मान र प्रेम रहेको बताए।
‘म हिन्दु हुँ, तर सबै धर्मको सम्मान गर्छु,’ देउवाले भने, ‘नेपालका सबै नागरिकले आफ्नो धर्म मान्ने पूर्ण स्वतन्त्रता पाउनुपर्छ।’
धर्मका विषयमा नेपाली जनताले गर्ने कुनै पनि निर्णयलाई आफूले स्वीकार गर्ने उनले स्पष्ट पारे।
यसैबीच, भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको साविक कार्यसमितिले नै १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। महाधिवेशनका लागि आवश्यक सांगठनिक तयारीको जिम्मेवारी पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई दिइएको छ।




