काठमाडौँ - सर्वोच्च अदातलले रवि लामिछानेको सांसद बन्न अयोग्य रहेको र नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ । नेपालको मन्त्री हुनका लागि नेपाली नागरिक हुनुपर्छ ।
उनको नागरिकता नै नरहेको ठहर भएपछि मन्त्री पद स्वत: गएको हो लामिछाने ३२ दिन अघि उपप्रधान तथा गृहमन्त्री बनेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि पुस ११ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएका लामिछानेको पद गएको हो ।
अमेरिका नागरिकता र पासपोर्ट परित्याग गरेपनि लामिछानेले नेपाल नागरिकता लिने प्रक्रिया सुरु नगरेपछि सांसद बन्न अयोग्य भएका हुन् । सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संवैधानिक इजलासबाट फैसला भएको छ ।
रास्वपाको सभापति पद पनि गयो
सर्वोच्च अदालतले रवि लामिछानेसँग नेपालको नागरिकता प्रमाणपत्र नभएको भन्दै फैसला गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी को सभापित पद पनि गुमाएका छन् ।
टेलिभिजन पत्रकारिता छाडेर राजनीतिमा आएका लामिछानेले आफ्नो नेतृत्वमा गत असार ७ गते पार्टी घोषणा गरेका थिए । गत मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा सो दलले २० स्थान जितेको थियो । जसले चुनावमा करिब १२ प्रतिशत मत प्राप्त गरेको थियो । रास्वपा वर्तमान सत्ता गठबन्धनको एउटा घटक हो ।