बर्दिबास- महोत्तरीको बर्दिबासमा रामजानकी फनपार्क बन्ने भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिकास्थित रातु खोलाको किनारमा फन पार्क बनाउन लागिएको बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले जानकारी दिए ।
मेयर क्षेत्रीले पर्यटकीय नगरी बनाउन बर्दिबासमा रामजानकी फन पार्क बनाउने योजनामा आफूहरु अघि बढिरहेको बताए । पर्यटन प्रबद्र्धनमार्फत बर्दिबास नगरपालिकालाई देशभर र छिमेकी मुलुकमा पनि आफूहरु चिनाउन चाहेको उनले बताए ।
फागुन १६ गते प्रधानमन्त्रीबाट उक्त फन पार्कको शिलान्यस गर्ने तयारी रहेको उनले बताए । फन पार्कको लागि प्रदेश सरकारबाट ३ करोड १५ लाख रुपैया बजेट आईसकेको उनले सुनाए।
'प्रदेश सरकारबाट दुई करोड १५ लाख रुपैया नगरपालिकामा आईसकेको छ। थप बजेटका लागि हामीले संघीय सरकारबाट ल्याउने प्रयासमा जुटिरहेका छौं,’ मेयर क्षेत्रीले अन्नपूर्णसँग भने ।
बर्दिबास नगरपालिकाको स्रोतबाट ३० विघा जग्गा किनेर फन पार्क बनाउन लागिएको उनले बताए । मेयर क्षेत्रीले जानकी मन्दिर मधेस प्रदेशको राजधानीको चिनारी रहेकोले त्यसलाई जोडेर फन पार्कको नामाकरण गरिएको सुनाए।
‘पर्यटन प्रबद्र्धनमा जानकी मन्दिरलाई जोड्ने उद्देश्यले रामजानकी फन पार्क भनेर नामाकरण गरेका हौं । बर्दिबासमा बन्ने फन पार्क प्रदेशकै लागि एउटा चिनारी हुन्छ,’ मेयर क्षेत्रीले भने ।