महोत्तरी- महोत्तरीस्थित बर्दिवास नगरपालिका–३ का १८ परिवारको साझा घर हो आधारशिला । उनीहरू राजनीतिक रूपमा समान धारणा राख्छन् ।
तत्कालीन एकता केन्द्र मसालको सिरहामा सम्पन्न (वि.सं. २०५४) राष्ट्रिय सम्मेलनले आधारशिला निर्माण गर्ने निर्यण गर्यो । त्यसबेला एकता केन्द्रको नेतृत्व नारायणकाजी श्रेष्ठ (प्रकाश)ले गरेका थिए । उक्त राष्ट्रिय सम्मेलनबाट पार्टीका पूर्णकालिन नेता कार्यकता र सहिद परिवारका बालबच्चाहरुको रेखदेख विकास र व्यवस्थापन गर्ने अभिप्रायबाट आधारशिला संचालन गर्ने निर्णय भएको थियो ।



वि.सं. २०५४ सालमा गरिएको निर्णय कार्यान्वयनका लागि महोत्तरीको किसाननगरमा वि.स. २०५९ साल माघ २५ गतेका बसेको बैठकले आधारशिला निमार्ण गर्ने निर्णय भएको थियो । तत्कालीन एकता केन्द्रको वैचारिक राजनैतिक कार्यदिशाको आलोकमा नयाँ ढङ्गको कम्युनिस्ट पार्टी निमार्णको आधारमा १८ जना बालबच्चाहरुको सहभागितामा महोत्तरीको गौरीडाँडामा आधारशिलाको सुरुवात गरिएको हो ।
आधारशिलाको संचालक समितिको संस्थापकका रुपमा हाल नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्रि गिरिराजमणि पोखरेलले नेतृत्व गरेका छन् । आधारशिलाको संरक्षकका रुपमा नेकपाका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ रहेका छन् ।
संचालक समिति अध्यक्ष माधव कोइरालाको अग्रसरतामा आधारशिलाले २० औं वार्षिकोत्सव नेपाल सरकारका भौतिक पूर्वाधार मन्त्रि तथा आधारशिलाका संरक्षक नारायणकाजी श्रेष्ठ प्रकाशको प्रमुख आतिथ्थ्यतामा २० औं वार्षिकोत्सव मनाएको छ । आधारशिलामा १८ परिवारका ४५ जनाको सामूहिक बसोवास छ । आधारशिलामा १२ वटा सुत्ने कोठा, १ भान्सा घर, १ सभाहल, १ लाइब्रेरी, १ स्टोरघर छ । १८ परिवार फरक फरक भूगोल, परिवेश तथा भेषभाषाका रहे तापनि आधारशिलाले एक परिवारका रूपमा २० वर्षे इतिहास रच्न सफल भएको छ ।
आधारशिलाका सदस्य माओवादी केन्द्रका प्रभावशाली नेता गिरिराजमणि पोखरेलका सहयोगी रहेका शंकर महतो अहिलै वैचारिक कम्युनिष्ट रहेपनि भावनात्मक रुपमा आधारशिलाबाट करिव १८ वर्षपछि सहकार्य तोडि आधारशिलाबाट बाहिरिएका छन् । अन्य परिवारहरुको साथ र सहकार्यका साथ आधारशिला निरन्तर अगाडी बढि रहेको छ ।
आधारशिला मुख्यत : ५ उद्देश्य
आधारशिला मुख्यत : ५ उद्देश्यका साथ सञ्चालन गरिएको हो । जसमा कम्युनिष्ट आन्दोलन र नयाँ ढङ्गको पार्टी निमार्णलाई सहयोग गर्न, पार्टीमा पूर्णकालीन कार्यकर्ताको घरपरिवार र बाल बालिकाहरुको रक्षा, विकास र व्यवस्थापनाका लागि नयाँ चुनौती स्विकार्दै सामाजिक सांस्कृतिक रुपान्तरणको अभियानलाई सचेत रुपम अगाडि बढाउन, वैचारिक श्रेष्ठता हासिल गर्न, उत्पादनमा आत्मनिर्भता कायम गर्नुको साथै समुदायमाा आधारित भएर काम गर्ने उद्देश्य रहेको छ । जुन यात्राको १६ वर्षे पार गरि १७ औं वर्षमा प्रवेश गरेको छ ।
कसरी सञ्चालन हुन्छ आधारशिला
२० वर्षे यात्रा पूरा गरेको आधारशिला आफ्नै १३ कठ्ठा जमीन र अन्य १ विगहा लिजमा लिएको जग्गाबाट आएको आम्दानीले आधारशिला सञ्चालन गर्दै हुँदै आएको छ । आधारशिलामा बस्ने ४५ जनालाई पुग्ने गरी आँफैले आर्गानिक हरियो तरकारी र दाल सिजनअनुसारको आफ्नै जग्गामा उत्पादन गर्दै आएका छन् । त्यस्तै लालगढमा वार्षिक २५ हजार तिर्ने गरी एक विगहा जग्गा लिजमा लिएको छ जसमा धान र गहुँ उत्पादन गर्ने गरेको छ ।
१८ परिवारले मिलेर गरेको धान खेतीबाट नै आधारशिलाको भान्छा चल्ने गरेको आधारशिलाका सदस्य शिव फुयाँलले बताए । यसबाहेक तेल, मसालालगायत अन्य सरसामाग्रीको लागि मासिक १८ देखि २० हजार रुपैयाँ नगद खर्चिनु पर्ने हुन्छ आधारशिला सञ्चालनका लागि ।
२० वर्षे इतिहासका संस्थापक अध्यक्ष माओवादी केन्द्रका नेता पूर्वमन्त्रि गिरिराजमणि पोखरेलका अनुसार आधारशिला समाजवाद र साम्यवादको दिशा तय गरेको बेलामा स्थापित भएको हो । समाजमा व्यक्तिवादी पूँजीवादलाई तोड्ने प्रयासस्वरुप सामूहिकतामाा आधारित भएर आधारशिलाको निमार्ण गरिएको हो ।
अहिले समाजमा घुस खान, कमिसन खान, अनियमितता गर्न, वैइमानी गर्न सजिलो भएको छ तर सामुहिकतालाई स्वीकार्न निकै गार्हो र चुनौती भएको बेला आधारशिलामा बस्ने १८ घरपरिवारका सदस्यहरुको त्याग, बलिदानी र इच्छाशक्तिको उपज नै आधारशिलाले २० औ वार्षिकोत्सव मनाउन सफल भएको अध्यक्ष पोखरेलले बताए ।
कम्युनिस्ट पार्टीको पुर्नगठनको बेला समयमा आधारशिलाले २० औं वार्षिकोत्सव भब्यताका साथ मनाउनुको कारण देशमा कम्युनिस्टहरुको यस्तै खालको सामूहिकपना झल्कने गरी सयौं आधारशिला निमार्ण होस र सहकारिकताको माध्यमले अगाडी बढोस भन्ने मनोकाक्षाको साथ २० औ वार्षिकोत्सव भब्यताका साथ मनाइएको छ ।
आफ्नै सहकारी र सञ्चारमाध्यम
निजी घरपरिवार चलाउन निकै कठिनाई हुने बेलामा सामूहिकतामा आधारित आधारशिलाका १८ घरपरिवार जोगाउनका लागि सामुदायिक विद्यालयलाई सु–व्यवस्थित तरिकाले सञ्चालन गर्दै गाउँमा निरक्षरता उन्मुलन अभियान सञ्चालन गरिएको छ ।
आधारशिलाले २०६० देखि रुची मशाला उद्योगको सञ्चालन गरेको छ । २०६४ सालमा सञ्चारमाध्यममा लगानी गर्दै जनतालाई सही तथ्य सूचना सम्प्रेषण गर्न रेडियो दर्पण एफ एम सञ्चालन गरिएको छ ।
त्यस्तै आधारशिलामै गाईपालन समेत गरिएको छ । जनमुखि स्वास्थ्य विकास सहकारीमार्फत बचत र ऋण कार्यक्रम पनि आधारशिलाले सञ्चालन गर्दै आएको छ । यी संस्थाहरुबाट आएको आम्दानी र आधारशिलामा बस्ने व्यक्तिहरुको आम्दानी रहने गरी आधारशिला सञ्चालक समितिको नाममा खाता सञ्चालन गरिएको छ । यही आम्दानीहरुको आधारमा आधरशिलामा खर्च हुने गरेको छ ।
यसका अलावा आधारशिलाले विचारधारात्मक काम गर्नका लागि मुखपत्रको रुपमा प्रस्थानको प्रकाशन गरेको छ । जयगोविन्द शाह अध्ययन केन्द्रको स्थापना र सञ्चालन गरेको छ । आफू र आफ्नो परिवेशलाई बुझ्ने प्रवचन श्रृखला पनि सञ्चालन गरिएको छ । यसक्रममा संस्कृति, शिक्षा , सहकारी, अर्थतन्त्र, अक्टोवर क्रान्ति, भाषा, सुशासनलगायत विषयमा वैचारिक छलफल समेत गरिँदै आएको छ ।
बदलिएको नेपालको राजनैतिक परिवेशमा अधिकार र विकासमा आधारित जनआकांक्षा, समाजवादमा जाने राष्ट्रिय संकल्पको साथै वर्तमान पूँजीको दासता अन्त्य गर्ने मार्ग खोज्न, नाफा र नोक्सानको जिन्दगीबाट मानवीय संवेदनासहितको वैज्ञानिक समाज निमार्णमा सहयोग पुर्याउन यस्तै सामूहिकताका साथ आधारशिला निमार्ण गरी सहकार्यमा जुटन आधारशिलाले अपिल गरेको छ ।




