
जनकपुरधाम - समुन्द्री सतह देखि ६१० मिटर उचाईबाट सुरु भई १८७२ मिटर सम्म फैलिएको भु–क्षेत्रलाई चुरे क्षेत्र भनिन्छ ।चुरे क्षेत्र जैविक र प्राकृतिक दृष्टिकोणबाट अति नै महत्वपूर्ण र उपयोगी क्षेत्र हो । यहाँको हावापानी पनि समशितोष्ण किसिमको भएकै कारण यहाँ विभिन्न प्रजातिको वन्यजन्तु पाईन्छन् । यहाँ साल, सिसौं, खयर, अमला, हर्रो, बर्रो जस्ता औषधी जन्य बहुउपयोगी विरुवा पनि प्रशस्त रुपमा पाइन्छन् ।

चुरे वन क्षेत्रको भू–बनोट बलौटे र गेग्राङ माटोबाट बनेको हुँदा यहाँको भू बनोट खुकुलो किसिमको छ । त्यसैले पनि यो चुरे वन क्षेत्रलाई एक संवेदनशील क्षेत्रको रुपमा लिईन्छ । यो क्षेत्र भौगोलिक, प्राकृतिक र जैविक लगायत सम्पूर्ण क्षेत्रबाट बहुउपयोगी क्षेत्र मानिन्छ । चुरे क्षेत्र तराई र पहाडी क्षेत्रको बीचको भागमा रहेके क्षेत्र हो । यस क्षेत्र तराईको उर्वर भूमिलाई सिंचित गर्नको लागि पानी मूल श्रोत पनि बन्न पुगेको छ । चुरे वन क्षेत्र संरक्षण गर्नुपर्ने निकै कारणहरु छन् । यहाँका बहुमुल्य वनस्पती, लोप हुन लागेका, जीवजन्तु र सम्पूर्ण प्राकृतिक सौन्दर्यले गर्दा नै आज नेपाल विश्व सामु जलश्रोतको दोश्रो धनी देशको रुपमा परिचित छ ।

यो चुरे वन क्षेत्रले यस क्षेत्र आसपासमा बसोवास गर्ने अधिकांश जनताको जीवन चलाउन मद्दत गरेको छ । चुरे वन क्षेत्र कै बोटविरुवा, वनस्पती, जीव जनावरको उपभोग गरी उनिहरुको जीवन गुजारा भइरहेको छ । चुरे वन क्षेत्रले दिएको अनेकौं सुविधाको कारण नै हामीले यस क्षेत्रको संरक्षण गर्नु आवश्यक छ ।
चरे वनक्षेत्र संवेदनशील हुँदा हुँदै पनि यसलाई विभिन्न किसिमले दुरुपयोग गरेको पाईएको छ । यसको संरक्षणमा सरकारी तथा गैरसरकारी नीतिहरु प्रभावकारी छैनन् । यस क्षेत्रको संरक्षण नगरेमा हाम्रो, ‘हरियो वन नेपालको धन’ भन्ने उखान पनि उखान नै बनेर सीमित हुने छ र हाम्रो अन्नको भण्डार भनिने तराई क्षेत्र उराठ मरुभुमि बन्न पुग्नेछ । हाम्रो प्राकृतिक सौन्दर्य र भू–स्वरुप ओरालो लाग्ने छ । र हाम्रो देश जल श्रोतको धनि नभई जल श्रोतको अभाव भएको देशमा परिणत हुने छ ।
सरकारले चुरे संरक्षणको लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेको भए पनि वन जंगल र खोला किनार अवैध रुपमा खुल्ने गरेका क्रसर उद्योगको कारण चुरे संरक्षणमा चुनौती बन्दै गएका छन् ।
धनुषा र महोत्तरीको सीमानामा रहेको रातु खोला किनारमा मात्रै वरिपरी गरि ५ वटा क्रसर उद्योग अवैध रुपमा संचालनमा छन् । अवैध रुपमा बालुवा, गिट्टी उठाउने गरेका कारण वन जंगल विनास भइरहेको छ । सरोकारबाला निकाय यसलाईृ रोक्नको लागि गम्भीर नेदेखिएका कारण समस्या बढ्दै गएको छ । वन विनास अत्यधिक रुपमा बढेको छ भने क्रसर उद्योगले जथाभावी रुपमा नदीबाट बालुवा, गिट्टी निकाल्ने गरेका छन् । क्रसर उद्योगका कारण तटबन्ध जोखिममा परेको छ । रोक्नुपर्ने निकायले नै ती उद्योग संग लाभ लिंदा समस्या देखिएको हो ।
किसान नगरका रीता भट्टराईले खोला किनारमा रहेको क्रसरले बालुवा लिएर जाँदा आफ्नो घरमा समेत बालुवा पसेको बताइन् । उनले भनिन्, ‘राति राति बालुवा ओसार्दा हैरान भएको छु । जथाभावी बालुवा झिक्दा तटबन्ध नै भत्किने खतरा रहेको छ ।’
धनुषा र महोत्तरीको सीमामा रहेको रातु पुल २०७१ मा भत्किनुको कारण पनि यहि क्रसरहरु रहेको लालगढका स्थानीयवासी महेश बस्नेतले बताए । उनले भने, ‘अहिले पनि ३५ घरधुरी जोखिममा छन् ।’

क्रसर उद्योग संचालन गर्दा घरेलु तथा साना उद्योग कार्यालयले तोेकेको मापदण्ड अनुसार खोला किनार तथा राजमार्ग देखि ५०० मिटर टाढा हुनुपर्ने, शिक्षण संस्था, स्वास्थ्य संस्था, साँस्कृतिक परातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज, आरक्ष र घनावस्ती देखि २०० मिटर तथा चुरे क्षेत्र देखि एक किलोमिटर टाढा हुनुपर्ने प्रावधान छ । तर, यस्ता मापदण्ड पुरा नगरी क्रसर उद्योग संचालन गरिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले त्यस तर्फ चासो नदिंदा समस्या भएको स्थानीयहरुले आरोप छ ।
खोला उत्खनन् गरी ढुंगा, गिट्टी, बालुवा, जिल्ला बाहिर तथा भारत समेत निकासी हुने गरेको छ ।
तत्कालिन जिल्ला विकास समिति र अहिले स्थानीय तहहरु नगरपालिका र गाउँपालिकाहरुले आन्तरिक आम्दानीका लागि खोला ठेक्का लगाउने र एक्साभेटर जेसिभी प्रयोग गर्न दिने, उद्योगको नियमन गर्ने जिम्मा पाएको घरेलु तथा साना उद्योग कार्यालय, हालको स्थानीय सरकार, जिल्ला समन्वय समितिले कानुनी अधिकार प्रयोग नगर्दा खोलाको दोहन नरोकिएको हो ।
चुरे आफैमा कमलो हुन्छ । चुरे क्षेत्रबाट अनियन्त्रित तरिकाले उत्खनन् गरिएपछि नदी तथा खोलाको बग्ने दिसा नै परिवर्तन हुन्छ भने कटान बढ्दै जान्छ ।
सामुदायिक वन उपभोक्ता महासंघ महोत्तरीका अध्यक्ष कुमार घिमिरे चुरे क्षेत्रमा जथाभावी रुपमा बढेको क्रसर उद्योगको कारण तराईमा भू–क्षयको खतरा बढ्दै गएको बताउँछन् । उनले भने, ‘यसलाई रोक्न ठोस नीतिको आवश्यक्ता छ। अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगलाई बन्द गरिनुपर्छ ।’

चुरे पहाडको सबैभन्दा उत्तरमा रहेको सीमादेखि दक्षिणमा नेपाल भारतको सीमाना सम्मको सम्पूर्ण (चुरे, भावर र तराई) परिदृश्यलाई चुरे क्षेत्र भन्ने बुझिन्छ । नेपाललाई प्राकृतिक रुपमा धनी भनेर चिनाउने चुरे क्षेत्र पनि हो । तराई सकिएर उठेको पहिलो तथा महाभारतबाट ओर्लिदा अन्तिम पहाडबीचमा रहेको भु–भाग चुरे हो । यो पूर्व– पश्चिम फैलिएको पहाडी भू–भाग हो । यसले नेपालको कुल भु–भागको करिब १२.७८ प्रतिशत ओगटेको छ । यो क्षेत्र पूर्व इलाम देखि पश्चिम कञ्चनपुर सम्म फैलिएको छ । यसले ३६ जिल्ला छोएको छ । चुरे पहाड कमलो एवं सबैभन्दा कान्छो पर्वतिय प्रणालीको नामले परिचित छ । कमजोर भु बनौट भएको चुरे पहाडमा प्राकृतिक कारणबाट नै ह््रास हुँदै गएको अवस्थामा यस प्रकृयालाई अदुरदर्शी मानवीय कृयाकलापका कारण जनधन र जैविक विविधता तीब्र गतिमा क्षति हुँदै गएकाले उपल्लो तटीय र तल्लो तटीय जनतालाई यसबाट हुने नकारात्मक प्रभाव परिरहेको छ ।

तराई क्षेत्रको लागि पानीको रिचार्ज र तल्लो तटीय उर्वर भूमिको लागि जलीयचक्रको व्यवस्था गर्ने भावर क्षेत्र तथा वन पैदावर र जैविक विविधताको धनी क्षेत्र चुरे पहाडको संरक्षण अपरिहार्य रहेको छ ।
चुरे विनासको सामाजिक, आर्थिक प्रभाव मूल्यांकन अध्ययन कार्य हालै नेपाल वन प्राविधिक संघले सम्पन्न गरेको छ ।
पाँचवटा खोला प्रणाली जलाधार क्षेत्रको (पसाहा, भेडाहा, चाँदी, चारनाथ र तावा खोला) अध्ययनको सिलसिलामा प्राप्त तथ्यांकका आधारमा सामाजिक र आर्थिक प्रभाव मूल्यांकन गरिएको छ ।
तावा खोलाको बहावका कारण बर्सेनी दुई तीन जनाले ज्यान गुमाउनु परेको स्थलगत तथ्यांकबाट देखिन्छ । खोला तटीय क्षेत्रका प्रभावित पाँच प्रमुख सूचनादाता किसानहरुको २ सय ३६ कट्ठा जमिन बगर भएको छ भने ६ लाख ४० हजार वार्षिक बालीनाली क्षति भएको देखिन्छ । यसको आधारमा ती खोलाहरुको सन् १९९४ र २०१० बीचको भूउपयोग परिवर्तन विश्लेषणबाट अनुमानित कुल ४ हजार ३ सय ८९ हेक्टर अर्थात १ लाख ३१ हजार ६ सय ७० कट्ठा कृषि जमिन कटान डुबान भई रु. ४६ करोढ ६९ लाख २४ हजार ५ सय वार्षिक नोक्सानी भएको अनुमान गरिएको छ ।
चुरेको महत्व
क) चुरे क्षेत्र जैविक विविधताको दृष्टिकोणले अति धनी रहेको छ, चितवन, वर्दिया, राष्ट्रिय निकुञ्जहरु, पर्सा वन्यजन्तु आरक्ष लगायत यस क्षेत्रमा पाइने बाघ, गैंडा, हात्ती र अन्य वन्यजन्तु यसै क्षेत्रमा पाइन्छ ।
ख) चुरे क्षेत्रबाट निस्केको खोलाहरुले भावर र तराईक्षेत्रको पानी रिचार्ज गर्ने गर्दछ र यस क्षेत्रको कृषि उत्पादन र जीवनयापनमा महत्वपूर्ण भूमिका खेल्दछ ।
ग) चुरेको मुख्य उत्पादन पारिस्थितिक सेवा हो काठ, दाउरा र गिट्टी बालुवा होइन ।
महोत्तरीमा चुरे
महोत्तरीमा चुरे भु–भाग वर्दिवास नगरपालिका क्षेत्रमा पर्दछ । यस क्षेत्रबाट मुख्य रातो र मड्हा गरि २ नदि प्रणाली रहेको छ । रातो नदि प्रणालीमा वर्दिवास र जलेश्वर नगर क्षेत्र सहित पशुपतीनगर, सितापुर, हत्तिसर्वा, सिंग्याही, लोहारपट्टी, बगडा, बनौटा, सरपल्लो, साढा, गोनरपुरा, डाम्ही मड्ही, कोलुवा बगेवा, अंकार ग्रामिण क्षेत्रहरु प्रभावित बनेको छ । यस क्षेत्रमा २९, ३५८ घरधुरीका १६३२३१ जना बसोबास गर्दछन् । रातु नदिको प्रभावित क्षेत्रमा १९२२३ हेक्टर कृषि क्षेत्र ६३७० हेक्टर वन क्षेत्र र २१२९ हेक्टर सार्वजनिक जग्गा पर्दछ ।
त्यसैगरी मड्हा नदि प्रणालीमा खयरमारा, लक्ष्मिनिया, भरतपुर, फुल्काहा, सुन्दरपुर, खयरबनी र रघुनाथपुर जस्ता गाउँहरु पर्दछ । यस नदि प्रभावित क्षेत्रमा ११५५७ घरधुरीका ६६७५१ जना बसोबास गर्दछन् । १०८५९ हेक्टर वन क्षेत्र १०१८९ हेक्टर कृषि क्षेत्र र १७४६ हेक्टर सार्वजनिक जग्गा रहेको छ ।
यी क्षेत्रका बासिन्दाहरु जहिले पनि जोखिममा रहेका छन् । प्रत्येक वर्ष यस क्षेत्रमा जन धनको क्षति हुने गरेको छ।
चुरे विनाशका कारण देखा परेका मुख्य असरहरु
क) मुहानहरुमा (इनार, कल, कुवा) पानी सुक्दै जानुको कारणले खानेपानीको समस्या बढ्दै जानु
ख) सिंचाइको कमिको कारण सुख्खा क्षेत्रमा परिणत हुँदै गरेको अवस्था रहेको छ ।
ग) रातु नदि चौडाई प्रत्येक वर्ष १० मिटरको दरले वृद्धि हुनुको साथै पानीको वहावमा वृद्धि हुँदै गइरहेको छ भने बस्तीहरु बाढिको उच्च जोखिममा रहेको छ ।
घ) नदिले जग्गा कटान गर्दा कृषकहरु मारमा पर्नुको साथै सुकुम्बासी बन्दै गएको अवस्थामा वृद्धि भइरहेको छ ।
ङ) वन क्षेत्रमा पाइने जनावर तथा पंछिहरु लोप हुँदै गएको (जैविक विविधतामा) पारस्थितिकिय प्रणालीमा असर पुग्नु ।
च) चुरे क्षेत्रमा भुस्खलन पहिरो जानु जस्ता समस्याहरु रहेका छन् ।
छ) नदीको सतह माथि उठदै जाँदा खोलाले वर्षेनि आफ्नो धार परिवर्तन गर्ने गरेको
ज) २०७२ मा आएको भुकम्प पश्चात पहाड तीर खानेपानीको मुहान सुकेको अवस्था छ भने कति पय ठाउँमा सुक्न लागेको छ । यस्तो अवस्थामा त्यहाँ बसोबास गर्ने मानिसहरुको बसोबास पानी खोज्दै बसाई सर्ने खतरा बढेको छ।
चुरे विनाशका मुख्य कारणहरु
क) अनियमित र अत्यधिक रुपमा ढुंगा, गिट्टी संकलन
ख) अत्यधिक नदी जन्य पदार्थको उत्खनन
ग) वन फडानी
घ) चुरेमा संरक्षण विपरित भौतिक पुर्वाधार तथा विकास निर्माण संचालन
ङ) वन डढेलो विभिन्न कारण तथा उद्देश्यले लगाउने
च) चुरे क्षेत्रमा खुला चरिचरण
संरक्षणका उपायहरु
क) रातु नदि किनारमा भइरहेको तटबन्धको भित्रपट्टी बास वा वृक्षारोपण गर्नुपर्ने
ख) चुरे संरक्षणका लागि सामाजिक परिचालन मार्फत व्यापक रुपमा सचेतना अभिवृद्धि गर्नुपर्ने
ग) विकासका पूर्वाधारहरु (बाटो, भवन निर्माण) गर्दा चुरे संरक्षणमा ध्यान पुर्याउने खालका नियम शर्त बनाउनु पर्ने
घ) अव्यवस्थित वन फडानी र गिट्टी वालुवा निकासीलाई नियन्त्रण गर्नुपर्ने
के भन्छन चुरे विज्ञ
अहिले बस्ती÷बस्ती सखाप पार्नेगरी बढेको बाढीको जोखिमको निदान शिरदेखि नै बुझ्नु पर्ने महोत्तरी कै भंगहा – ७ का बासिन्दा डा विजयकुमार सिंह बताउँछन् । चुरे विषय मै विद्यावारिधि गरेका सिंहले चुरे श्रृंखलामा बढेको अव्यवस्थित बसोबास, विकासका नाउँमा सडक विस्तार गर्न वैज्ञानिक अध्ययन बिनानै पहाड भत्काउने बढ्दो लहर, चुरे र नदीमा हुने निरन्तरको अनियन्त्रित उत्खनन, खोल्सी व्यवस्थापनमा देखिने उदासीनता र वन विनाश नै बाढी र पहिरोका मुख्य कारण बनेको बताए ।

‘अहिले त केही बस्ती जोखिममा रहेका, केही घर बाढीले लगेका र केही जग्गा कटान भएका समस्या सुन्दैछौँ’, डा सिंहले भने, ‘चुरे पहाडी श्रृंखला, नदी र वनमा हुने लुछाचुँडी तत्काल नरोकिने हो भने सिङ्गो भावर कटान र मधेश डुबानमा पर्नेछ, यहाँका उब्जाउ जग्गा बालुबुर्ज मरुभूमिमा परिणत हुनेछन् ।’
धेरैजसो केन्द्र र प्रदेश नीतिमा यी कुरामा भर गरे पनि सम्बन्धित स्थानीय तहको संकल्प र प्रतिबद्धता भए धेरै कुरा ‘लिक’ मा आउने डा सिंहको विश्वास छ । यद्यपि यस भेगका धेरैजसो स्थानीय तहको नेतृत्व क्रसर सञ्चालक कै वरिपरि देखिनाले तत्काल सकारात्मक कदमका लागि अब जनदवाब नै आवश्यक देखिएको डा सिंह बताउँछन् ।
यसै बीच चुरे शिखरसम्म भूगोल समेटिएको जिल्लाको एकमात्र बर्दिबास नगरपालिकाले अवैज्ञानिक र अनियन्त्रित उत्खनन हुने क्रम रोक्ने जनाएको छ । ‘विधि, प्रक्रिया र मापदण्ड नाघेर हुने÷भएका उत्खनन रोक्न हामीले निर्णय नै गरेर कारवाही अघि बढाएका छौँ’, नगरप्रमुख प्रहलाद क्षेत्रीले भने, ‘स्थानीय प्रहरी÷प्रशासनको साथ पाए जथाभावी उत्खनन रोक्न सकिने हाम्रो विश्वास छ ।’
नगरपालिकाले यस्तो प्रतिबद्धता जनाए पनि रातु नदी र नदी उकास क्षेत्रमा उत्खनन नरोकिएको यस भेगका बासिन्दा बताउँछन् । ‘खै यी खोला खन्ने ठेकेदार र क्रसर सञ्चालकको तारतम्य कताकता जोडिएको छ, बुझ्नै गाह््रो ?’, बर्दिबास–१४ का बासिन्दा हरि दाहाल भन्छन्, ‘नगरप्रमुखले अनियन्त्रित उत्खनन रोक्ने प्रतिबद्धता जनाउनु भए पनि डोजर, एस्काभेटर चल्न छाडेका छैनन् ।’
कागजले चेतावनी दिएर मात्र नभई अनियन्त्रित उत्खनन गर्नेलाई कारवाही प्रक्रिया मै लगिए मात्र यो क्रम नियन्त्रण हुनसक्ने दाहाल सहितका यस भेगका सर्वसाधारण बताउँछन् । जिल्लाका १५ स्थानीय तहमध्ये बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा क्रसर सञ्चालन हुँदै आएका छन् ।






