
बिरगंज- पर्सा प्रहरीले वीरगञ्जबाट हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने गिरोहका ८ जनालाई पक्राउ गरेको छ ।
गत बिहीबार वीरगञ्ज महानगरपालिका–६ स्थित रेल्वे सडकखण्डबाट पक्राउ गरेको उक्त गिरोहलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–२४ रामगढवा बस्ने विजय महतो, वडा नम्बर–२ छपकैयाका सदाम अन्सारी, वडा नम्बर–११ श्रीपुरका सन्तोष लामा, मोजालिम मियाँ र रोशन थापा रहेका छन् ।
यस्तै, बाराको कलैया उपमहानगरपालिका–२३ बस्ने मुकेश पटेल, परवानीपुर गाउँपालिका–३ बस्ने नबाब हुसेन र भारत बिहारको मोतिहारीका इमाम अन्सारी पनि पक्राउ परेका छन् । विजय महतो गिरोहको मुखिया रहेको प्रहरी उपरीक्षक शाहले बताए ।
गिरोहले वीरगञ्जका विशालकुमार पटवालाई हतियार देखाएर अपहरण गरी लुटपाट गरेको थियो । पटवाको अपहरण भएको खबर पाएपछि प्रहरी निरिक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले अपहरणमा परेका पटवालाई वीरगञ्ज महानगरपालिका–१५ भिष्वाबाट उद्धार गरेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।
अपहरणकारीहरुले पटवाको साथमा रहेको ६ लाख ५० हजार रुपैयाँसमेत लुटपाट गरेका थिए । अपहरण तथा डकैतीमा संलग्न व्यक्तिहरूलाई खोजतलास गर्ने क्रममा गिरोहका ८ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शाहले बताए ।
पक्राउ परेकाहरुको भारतमा पनि विभिन्न घटनामा संलग्नता रहेको भन्ने अनुसन्धानको क्रममा खुलेको उनले बताए । उनीहरुको साथबाट प्रहरीले अपहरणमा प्रयोग गरिएको एक थान पेस्तोल र ५ राउण्ड गोली, नगद ४ लाख ९५ हजार रुपैयाँ पनि बरामद गरेको छ ।
साथै अपहरणमा प्रयोग गरिएको ना १९ प २८०८, ना ६२ प १०० र बीआर १ सीआर २४२५ नम्बरको तीन वटा मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।