महोत्तरी — महोत्तरीमा जारी दोस्रो बर्दिवास मेयर गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल क्लब फाइनल प्रवेश गरेको छ ।
मंगलबारको सेमिफाइनल खेलमा पेमा युवा क्लब विराटनगरलाई ०-१ गोलले पछि पार्दै धरान विजयी भएको हो । खेलको १६ र ४९ औं मिनेटमा धरान फुटबल क्लबका विनोद राईले २ गोल गरेपछि धरानले आफ्नो जित सुनिश्चित गरेको थियो ।



खेलको ७१ औं मिनेटमा पेनाल्टी पाएपछि पेमा युवा क्लबका फागुराम चौधरीले एक गोल गरेका थिए । मंगलबारको खेलमा धरान फुटबल क्लबका खेलाडी विनोद राई म्यान अफ द म्याच घोषित भएका खेल आयोजक नगर खेलकुद विकास बर्दिवासका सचिव अर्जुन बस्नेतले जानकारी दिए ।
सोमबारको खेलमा वाग्मती युवा क्लबलाई हराउँदै क्यामरुन एफसी फाइनलमा प्रवेश गरेको थियो ।
फागुन ४ गते बिहीबार हुने फाइनल खेलमा धरान फुटबल क्लब र क्यामरुन एफसीबीच प्रतिस्पर्धा हुने खेल आयोजक समितिले जनाएको छ । खेलमा ८ वटा समूहले भाग लिएका थिए ।




