जनकपुर - शुक्रबारदेखि जनकपुरधाम ब्यापार मेला–२०७९ सुरु भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनमा सुरु भएको मेलाको मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गरे । फागुन १४ गतेसम्म ऐतिहासिक तिरहुतिया गाछीमा आयोजना हुने उक्त मेलामा देश विदेशका गरी १ सय २५ वटा विभिन्न ब्राण्डका उत्पादनको स्टल राखिएका छन् ।
संघका अध्यक्ष जितेन्द्र कुमार महासेठका अनुसार– १० दिनसम्म चल्ने मेलामा १ लाख बढीले अवलोकन गर्ने अनुमान छ ।मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएपनि देशका चर्चित ब्राण्डका सिमेन्ट, अटोमोबाइल्स, गार्मेन्ट, कन्स्ट्रक्सन, बैंक, होम सप्लायर्स, हेल्थ एण्ड फूड फिटनेस, छालाजन्य उत्पादन, किचनवेयर लगायतका स्टल राखिएका छन् ।
जनकपुर क्षेत्रमा उत्पादन हुने मिथिला चित्रकला, सिकीबाट निर्मित हस्तकला, पारम्परिक भोजन आदिको प्रदर्शनी र बिक्री कक्ष राखिएका छन् । यसका अतिरिक्त भारत, पाकिस्तान र बंगलादेशका उत्पादनहरुको स्टल पनि राखिएका छन् । उद्घाटन समारोहमा मुख्मन्त्री सरोजकुमार यादव, संघीय सांसद जुली कुमारी महतो, मधेस प्रदेशका सामाजिक विकास मन्त्री सरिता कुमारी साह, कृषिमन्त्री वसन्त कुशवाहा, प्रदेशसभा सदस्यहरु रामाशीष यादव, दिपेन्द्र कुमार ठाकुरलगायतले सम्बोधन गरेका थिए ।