
काठमाडौं । नेपाली कांग्रेस र एकीकृत समाजवादीले राष्ट्रपति चुनावका क्रममा पाँच दलीय गठबन्धन ब्युँताउन सक्रियता तिव्र पारेका छन् । यी दुई दलले यसमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि मनाउन प्रयास गरिरहेका छन् ।
कांग्रेस र एकीकृत समाजवादीका नेताले देउवा निवास धुम्बाराहीमा बैठक गरेर पुरानो गठबन्धन ब्युँताउने समझदारी गरेका हुन् । दुई दलको बैठकपछि कांग्रेस नेताहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।
बालुवाटारको बैठकमा बिहीबार नै पुरानो गठबन्धन ब्युँताउनेबारे छलफल भएको बताइएको छ । तर यसमा प्रधानमन्त्रीले सहमति जनाइसकेका छैनन् ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले कांग्रेसले नयाँ गठबन्धन बनाउन आग्रह गरे पनि प्रधानमन्त्रीले थप छलफल गर्ने प्रतिक्रिया दिएको बताए । महासचिव गुरुङले नेपालभ्यूजसँग भने “कांग्रेसले आग्रह गरेको छ । त्यसमा प्रधानमन्त्रीले आफ्नो पार्टी र सम्बन्धित पार्टीसँग छलफल गर्छु भनेर प्रतिक्रिया दिनुभएको छ । भोलिसम्म केही ठोस निर्णय हुनसक्छ ।”
कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरू बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए । त्यसअघि कांग्रेस र एकीकृत समाजवादीको बैठक बसेको थियो ।
सभापति देउवाले बुधबार नै जसपा र लोसपाका नेतासँग पनि छुट्टै छलफल गरेका थिए । यी छलफलमा राष्ट्रपतिको निर्वाचनकै क्रममा नयाँ गठबन्धन बनाउने र नेपाली कांग्रेसले उम्मेदवारी दिने समझदारी बनेको कतिपय नेताले बताएका छन् । तर प्रचण्ड भने अझै अलमलमा देखिन्छन् ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफल गर्ने तयारी गरेका छन् । उक्त छलफलमा कुरा मिले अहिलेको गठबन्धनले निरन्तरता पाउने र नमिले नयाँ गठबन्धन बन्ने बालुवाटार स्रोतको दाबी छ ।
नयाँ गठबन्धन बनाउँदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत १ वर्ष प्रधानमन्त्री दिने आन्तरिक समझदारी भएको बुझिएको छ । सोही सहमतिपछि अध्यक्ष नेपाल एमाले अध्यक्ष ओलीबाट आएको राष्ट्रपतिको अफर अस्विकार गरेर नयाँ गठबन्धन बनाउन सक्रिय भएका छन् ।