
महोत्तरी- औरही नगरपालिका वडा ७ सोनामाई भोइल स्थित श्री सोनामाई आधारभुत बिधालयमा दुई कोठे पक्की भवन र वडा ९ अवलेशरामा रहेको जनता आधारभुत बिधालयमा चारकोठे पक्की भवन निर्माण हुने भएको छ ।
मंगलवार नगरप्रमुख प्रदिप कुमार खड्का र सो दुवै वडाका वडाध्यक्षहरुले संयुक्तरूपमा उक्त भवनको शिलान्यास गरेका हुन् ।

औरहीनगरको पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७९/०८० मार्फत विनियोजित लागत अनुमान भ्याट र कन्टीजेन्सी सहित वडा ७ को बिधालयमा ३२ लाखमा दुई कोठे पक्की भवन र त्यस्तै लागत अनुमान भ्याट र कन्टीजेन्सी सहित वडा ९ को बिधालयमा ८४ लाखमा चार कोठे पक्की भवन निर्माण हुने भएको छ।
भवन निर्माण पश्चात दुवै बिधालयमा अध्ययनरत बिधार्थीहरूलाई पठनपाठनमा सहयोग पुग्ने औरहीनगर प्रमुख खड्काले बताए ।

नगर प्रमुख खड्काले औरहीनगरको शैक्षिक गुणस्तर र विकासका निम्ति विद्यालयको भौतिक पूर्वाधार निर्माणमा जोड दिएको बताए । उनले भवन अभावले बिधालयहरुको शैक्षिक गतिविधिमा समस्या भइरहेकोमा भवन निर्माण पश्चात सो समस्या समाधान हुने बताए ।
शिलान्यास कार्यक्रममा औरही नगरपालिका ७ का वडाध्यक्ष जितेन्द्र यादव र वडा ९ का वडाध्यक्ष रघुनन्दन चौधरी , औरही नगरपालिका शिक्षा शाखा प्रमुख धनबहादुर राई,श्री सोनामाई आधारभुत बिधालय भोइल बिधालय व्यवस्थापन समिति अध्यक्ष राम प्रवेश यादव,दुवै बिधालयका प्रधानाध्यापकहरु, शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो।

