ढल्केवर- मिथिला लघुबित्तीय संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
मिथिला नगरपालिका वडा नं १० को लालगढ स्थित बौआ होटेलको सभाकक्षमा सम्पन्न साधारण सभाले संचालको समितिको पूर्नगठन गरेको छ।
संस्थाको संचालक समितिको अध्यक्षमा श्याम प्रसाद साह र सर्वसाधारण शेयर धनीको तर्फबाट पूजा कुमारी र संस्थापक शेयर धनीको तर्फबाट बिन्देश्वर यादवलाई चयन गरिएको छ ।
त्यसैगरी अन्य संचालकहरुमा फगुनी महतो कोइरी, किशोरी साह, मन्दिरा आचार्य र स्वतन्त्र संचालक दुर्गा प्रसाद सिंह दनुवार रहेका छन् ।
संस्थाका विभागिय प्रबन्धक रेशम प्रसाद बास्तोलाले संचालन गरेको सभामा संचालक समितिको तर्फबाट अध्यक्ष साह द्वारा प्रस्तुत गरिएको चौथो वार्षिक प्रतिवेदन आव २०७८/०७९ उपर छलफल गरी पारीत गरिएको छ।
त्यसैगरी संचालक समितिले प्रस्ताव गरे बमोजिम बोनश शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि आव २०७८/०७९ को मुनाफाबाट शेयरधनीहरुलाई २०७९ असार मसान्तमा कायम रहेको चुक्ता शेयर पूँजी १७ करोड ४ लाख ३७ हजार १ सय ७८ दशमलब ७५ को १३ लाख ४५ हजार ५ सय ५६ दशमलव ६७ नगद लाभांश वितरण गर्ने तथा उक्त रकम संस्थाले बुझाउने प्रस्ताव पारित गरिको जानकारी प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले गराए ।
राउतले यस वित्तिय संस्थाको कार्यक्रमलाई विस्तार गर्न हाल कायम रहेको अधिकृत पूँजि २० करोडमा १० करोड थप गरी जम्मा ३० करोड पुर्याउने प्रस्ताव पारित गर्ने निर्णय समेत गरिएको जानकारी दिए।