
काठमाडौं। संघीयता खारेजी र हिन्दू राष्ट्र कायम गर्ने माग राख्दै दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ।
यो अभियानले बैंक र लघुवित्तले ऋणीलाई दिएको मानसिक पीडा र धम्कीको समेत विरोध गर्दै आएको छ । अभियानले व्यवसायी प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शन र सभा गर्न माइतीघरबाट जुलुस निकालेको छ।
प्रदर्शनमा सहभागीहरूले नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी पनि गरेका छन् । यो अभियानमा राप्रपा नेपालले पनि ऐक्यबद्धता जनाएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाह र राजपरिवारका सदस्यको उपस्थितिमा फागुन १ गते मेचीपुल झापाबाट सुरु भएको प्रसाईंको यो अभियानले देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ ।
महाअभियानले बैंकको ब्याजदर घटाउनुपर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका माग पनि राखेको छ । पाँच प्रतिशत ब्याजमा ऋण पाउनुपर्ने मागसमेत अभियानकर्मीको रहेको छ।
प्रसाईंको अभियानमा उच्छृङखल गतिविधि नहोस् भनेर बिहानैदेखि चोक–चोकमा सुरक्षकर्मी तैनाथ छन्। बानेश्वर एरियामा भने सशस्त्र प्रहरी र जनपथको बाक्लो उपस्थिति छ। अभियानमा स्वतन्त्र बुद्धिजीवि समूहले समेत समर्थन गरेको छ।
प्रसाईंले उठाएका एजेन्डा नागरिक र राष्ट्रको हितमा रहेकाले उक्त आन्दोलनमा आफूहरूको समर्थन रहेको स्वतन्त्र बुद्धिजीवि समूहले जनाएको छ। वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगम, डा. प्रेमसिंह बस्न्यात, वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने लगायतको पनि प्रसाईंलाई समर्थन छ।