
विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ।
यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले घरेलु टोलीलाई ४२ रनले पराजित गरेको हो।
यससँगै शीर्ष ३ मा पर्दै नेपालको विश्वकप छनोट खेल्ने सम्भावना कायम नै छ। नेपालले अब २ खेल जिते एकदिवसीय मान्यता बचाउन सफल हुनेछ।
बाँकी ४ खेल जित्न सके विश्वकपको क्वालिफायरमा छनोट हुनेछ । लिग–२ मा नेपालले पहिलो पटक यूएईलाई पराजित गरेको हो ।
जितसँगै नेपाल तालिकामा यूएईलाई उछिनेर पाँचौ स्थानमा उक्लिएको छ । लिग २ का पाँच टोलीको एकदिवसीय मान्यता कायम रहनेछ ।
२३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १८७ रनमा अलआउट भयो। यूएईको लागि आसिफ खानले ८२ र आर्यन लाक्राले ५० रन बनाए।
नेपालको लागि सोमपाल कामीले तथा दीपेन्द्र सिंह ऐरीले ३–३ र सन्दीप लामिछाने, आरिफ शेख र करण केसीले १ विकेट लिए। ४१ ओभरमा लगातार २ विकेट लिदैँ दीपेन्द्रले नेपालको जितलाई सहज बनाए।
उनले नेपालको लागि चुनौती बनिरहेका आसिफ खानलाई ४१.१ ओभरमा क्याच एण्ड बोल्ड गरे। ४१.२ ओभरमा दीपेन्द्रले कार्थिकलाई पनि सोहि शैलीमा आउट गरे।
सन्दीपले भने आफ्नो अन्तिम बलमा नेपालको लागि १० औँ विकेट लिए । आलिशान शरफुलाई आउट गर्दै करनले लिग–२ मा आफ्नो ५० औँ विकेट पुरा गरे।
पहिले ब्याटिङ गरेको नेपालले पुरै ओभर खेलेर ८ विकेट क्षतिमा २२९ रन बनाएको हो ।नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाए । यस्तै आरिफ शेखले अविजित ४३ जोडे । प्रतिश जीसी ११ रनमा अविजित रहे ।
संकटमा परेको नेपाली इनिङ्स सम्हाल्दै भीमले नेपाललाई सम्मानजनक स्कोरमा पुर्याएका हुन् । भीमको एकदिवसीयमा पहिलो अर्धशतक हो।
कुशल मल्लले ३२ रनको योगदान गरे। छैंटौँ विकेटको लागि सन्दीप र भीमले ७६ बलमा ५० रनको साझेदारी गरेका थिए । सन्दीप २७ रनमा आउट भए ।
करण केसीले ११ बलमा १७ रनको योगदान गरे । ओपनर ज्ञानेन्द्र मल्ल ११, आसिफ शेख ६, कप्तान रोहित पौडेल १ र दीपेन्द्र सिंह ऐरी ४ रनमा आउट भएपछि नेपाल संकटमा परेको थियो ।
तर भीमले सन्दीप र आसिफसँग मिलेर नेपाललाई सम्मानजनक स्कोरमा पुर्याए । नेपालले अबका तीन खेल घरेलु मैदानमा खेल्नेछ ।