
महोत्तरी- महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोले आपसी सद्भाव कायम गरी होली मनाउन आग्रह गरेकी छिन् । बुधबार रंग र अबिरको महापर्व होलीको अवसरमा शुभकामना दिँदै उनले आपसी सद्भाव र मित्रता कायमगरी अनुशासित तरिकाले होली पर्व मनाउन आग्रह गरेकी हुन् ।
अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, कुनै पनि भाषाको अश्लिल गित नबजाउन, डिजे तथा अन्य लाउड स्पीकर चर्को साउण्डमा नबजाउन, होली खेल्दा मनोरञ्जनको नाममा गाँजा, भाङ र अन्य कुनै पनि प्रकारका लागूऔषध वा नशालु पदार्थ सेवन नगर्न पनि उपमेयर महतोको आग्रह छ ।
होलीको नाउमा ठुलो हुल, भिडभाड, उच्छृंखल गतिविधी र तडकभडक नगरी अनुशासित र मर्यादित भई भयरहित ढङ्गले आपसी सद्भाव कायम राखी मितव्ययी रुपमा पारिवारिक वातावरणमा होली मनाउन उनले अनुरोध गरिन् ।
यस्तै उपमेयर महतोले ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको पनि शुभकामना दिएकी छिन् । उनले महिलामाथि हुने विभेद र हिंसाका घटना न्युनिकरण गर्न आफु अग्रसर रहेको बताईन् ।
महिला शसक्तिकरणको सवालमा पनि कार्यपालिकाभित्र आफुले शसक्त आवाज उठाइरहेको बताइन् । महिलाहरुलाई आत्मनिर्भर बनाउन शीपमूलक तालिम, जागरण अभियान लगायतको कार्यक्रमहरु पालिकाको नीति तथा कार्यक्रममा समेटिएको उनले बताईन् ।
महिलाहरुलाई नेतृत्वदायी भूमिकामा अग्रसर गराउन आत्मबल बढाउने अभियानमा पनि आफूहरु लागिरहेको उनको भनाई छ । श्रमिक महिलाहरुले सामाजिक, आर्थिक, राजनीतिकलगायतका क्षेत्रमा सम्मान पाउनुपर्नेमा उनले जोड दिईन् ।