
काठमाडौं- चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गराएका चारैजनाको उम्मेदवारी कायम रहेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको समयसम्म कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि ४ जनाकै नाम राखेर निर्वाचन कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको हो ।
जसपाले महिला र पुरुष दुई उम्मेदवार उठाएकोमा प्रमिला यादवले उम्मेदवारी फिर्ता लिने भनिएको थियो । तर अन्तमा उनले फिर्ता लिन नमानेको स्रोतको भनाइ छ।
एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्य, जसपा उम्मेदवार रामसहाय प्रसाद यादव र प्रमिला यादव तथा जनमत पार्टीकी उम्मेदवार ममता झा प्रतिस्पर्धामा छन् ।
स्रोतकाअनुसार उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसादको उम्मेदवारी कायमै रहने निर्णय आयोगले गरेपछि जसपाले प्रमिला यादवलाई उम्मेदवारी फिर्ता गर्न दबाब दिएपनि उनले मानिनन् ।
उनी अध्यक्ष उपेन्द्र यादवको भन्दा नेता प्रदीप यादवनिकट मानिन्छिन् । पछि टुङ्ग्याउनेगरी अहिले दुवैको उम्मेदवारी कामय राखिएको नेता प्रदीप यादवले बताए । एक-दुई दिनभित्र पार्टीमा सहमति कायम गरेर एउटै उम्मेदवार बनाउने उनले बताए ।