
महोत्तरी । संघीय संरचनामा सबैभन्दा शक्तिशाली स्थानीय तहलाई मानिन्छ। संघ र प्रदेशमा सरकार अल्पमतमा परे विश्वासको मत लिनेदेखि सरकार ढाल्नेसम्म खेल हुन्छ। तर, स्थानीय सरकार यस्तो बलियो सरकार हो, जसलाई ५ वर्षसम्म कसैले हल्लाउन सक्दैन। तर पनि अल्पमत र बहुमतको खेल भने निकै रोचक हुन्छ।
महोत्तरीमा पनि १५ वटा स्थानीय तहमध्ये ४ वटामा पालिका प्रमुखहरू अल्पमतमा छन्। बर्दिबास नगरपालिका, भंगाहा नगरपालिका, सोनामा गाउँपालिका र महोत्तरी गाउँपालिका सरकार प्रमुख अल्पमतमा छन्। तर, बहुमतमा रहेका स्थानीय सरकारले समेत स्वतःस्फुर्त काम गर्न नसक्दा निर्वाचित भएको ९ महिनामा खासै गति लिन सकेको छैन।
अल्पमतमा रहेका सरकारलाई कार्यपालिकाबाट नै घेराबन्दी पारिएको छ भने बहुमत भएकाहरूलाई संघ र प्रदेशमा रहेका राजनीतिक शक्तिहरूले नियन्त्रणमा राखेका छन्। त्यसो त कतिपय पालिका प्रमुखहरूले सर्वशक्तिमान् बन्न खोज्दा पनि कार्यकाल नै असफल भएको उदाहरण पनि छ।
अघिल्लो कार्यकालमा सम्सी गाउँपालिकामा वडादेखि सम्पूर्ण कार्यपालिकामा माओवादी केन्द्रको बहुमत थियो तर पालिका प्रमुख र उपप्रमुखबीचको लडाईंले खासै काम हुन सकेन। सम्सी जस्तै एउटै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको आन्तरिक खिचातानी र फरक पार्टीको दलीय छायाले अहिले पनि कतिपय स्थानीय सरकार सकसमा छन्।
स्थानीय सरकार जुन पार्टीको छ, त्यो सफल भए राजनीतिक अभीष्ट समाप्त हुने डरले पनि केन्द्र र प्रदेश सरकारमा शक्तिमा रहेकाहरूको निशाना स्थानीय तह बन्दै आएका छन्। नेपाली कांग्रेसबाट टिकट नपाएपछि वागी बनेर निर्वाचित भएका बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्री राजनीतिक दलकै कारण काम गर्न असहज बनेको बताउँछन्।
प्रमुख प्रशासकीय अधिकृतहरू राजनीतिक दलको रोजाइ बन्दा उनले नगरको नियमित कामसमेत गर्न सकेका छैनन्। नगर प्रमुख क्षेत्रीले निर्वाचित हुनासाथ कांग्रेस निकट मानिने धर्मानन्द जोशीलाई प्रशासकीय अधिकृतमा ल्याए तर जोशी ४ महिनामा सरुवामा परे।
त्यसपछि आफ्नै रोजाइमा पुनः किरणनिधि तिवारीलाई ल्याए तर उनलाई पनि नगरमा कामकाज सुरु गरेको १५ दिनमा नै सरुवा गरियो । यही विषयलाई लिएर नगर प्रमुख क्षेत्री अहिले आक्रोशमा छन्। क्षेत्रीले भने, ‘अहिले नगर माओवादी केन्द्रको क्रीडास्थल बनेको छ।
उनीहरूको रोजाइअनुसार तिवारीलाई सरुवा गरियो।’ तर, कार्यपालिकामा भने उनी सधैँ बहुमतमा छन्। कांग्रेसको ‘लिगेसी’का कारण उनलाई कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको समर्थन छ भने नेकपा एमालेका जनप्रतिनिधिहरूले समेत साथ दिँदै आएका छन्।
यता, नगर विकासका साझा मुद्दामाथि कहिल्यै पनि माओवादीले अवरोध नगरेको वडा अध्यक्षहरू बताउँछन्। रामजानकी पार्क शिलान्यासका लागि प्रधानमन्त्री प्रचण्डलाई बोलाउँदा माओवादीले नै अवरोध गरेको बताउँदै नगर प्रमुख क्षेत्रीले माओवादी केन्द्रले निर्वाचनमा हारको प्रतिशोध साँधेको आरोप लगाए।
लामो समयदेखि आफ्नो प्रभाव जमाउँदै आएको माओवादी केन्द्रले स्थानीय निर्वाचनमा गौशाला, बर्दिबास, रामगोपालपुर र सम्सी गाउँपालिका गुमाएको छ भने संघमा समेत पराजय बेहोरेको छ। भंगाहा नगरपालिकामा दोहोरिएका नगर प्रमुख सञ्जीव साहले यस निर्वाचनमा बहुमत बटुल्न सकेनन्।
अहिले कार्यपालिकामा उनको पार्टी लोकतान्त्रिक समाजवादी पार्टीबाट ४ जना मात्र छन्। अघिल्लो कार्यकालको अनुभवलाई कार्यपालिकाको पहिलो बैठकमा प्रस्ताव गर्न खोज्दा नगर प्रमुख साहमाथि असहमति जनाइएको थियो ।