सिरहा : ‘कोहि बिना काम घुमिरहेको छ भन्ने उसलाई पक्रेर पढाउने काम साक्षरता सेनानीले गर्ने छ’, ‘जहाँ सहज सरल हुन्छ विद्यालय, सामुदायिक भवन सबै तिर पढाई हुन्छ र मधेश पुन नेपाललाई पढाउने प्रदेश बन्नु पर्छ यो हाम्रो अभियान हुनेछ ।’
सिरहाको पुरानौ चौहर्वामा मंगलवार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले यस्ता धारणा राखेका छन् । उनले साक्षरता सेनानीहरुको समुह बनाएर हरेक पालिकामा शिक्षण र अध्यापनका लागि पार्टीले एक अभियान चलाउने तयारी गरिरहेको बताएका छन् ।
मधेशको सामुदायिक भवनहरुमा साक्षरता सेनानीहरुले पढाउने अभियान सञ्चालनमा ल्याउने बताएका छन् । पढाउने ति शिक्षकहरुलाई सेनाको संज्ञा दिएर साक्षरता सेनानीको सम्मान दिने र उनीहरुले घुमिरहेका युवाहरुलाई पक्रेर भएपनि पढाउने बताए । नेपालको पहाड र हिमाललाई शिक्षित गरेको मधेश आज आफै अशिक्षित भइरहेको भन्दै उनले सोच्नुपर्ने बेला आएको बताए ।
आफुहरुकै विरोध र अडानका कारण सरकारले मलखाद्यमा गरेको अनुदान कटौती फिर्ता लिन बाध्य भएको समेत उनले बताए । अनुदान कटौती फिर्ता नभए सरकार छोडेर मधेशमा आन्दोलन गर्ने बताएपछि सरकार पछाडि हटेको उनको जिकिर छ ।
जनमत जनताको बिचमा रहने पार्टी हुने बताउदै उनले चुनाव पछिको तिन महिना देखि निरन्तर जनताको बिचमा रहेको बताए । कार्यक्रममा मधेश सरकारका राज्यमन्त्री तथा जनमतका नेता संजय कुमार यादवले मधेश सरकारमा आफुहरु निर्णायक नभई सहभागिता मुलक मात्र रहेकाले संर्घष त्याहाँ पनि रहेको बताए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि जनमत प्रवेश गर्नेहरुलाई माला र टिका लगाएर अध्यक्ष डा. राउत सहितका नेताहरुले स्वागत गरेका थिए ।