
महोत्तरी — महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुमा निजी विद्यालयका सवारी प्रवेशमा गाउँलेले रोक लगाएका छन् । गाउँबाट विद्यार्थी उठाउँदै आएका निजी विद्यालयलाई गत वैशाख ३ गते सवारी प्रवेशमा रोक लगाइएको जानकारी पत्र वडा कार्यालयले पठाएको थियो ।
चैत २६ मा पाटुमा रहेको जनजागृति माविका सरोकारवाला, अभिभावक, बुद्धिजिवी र समाजसेवीको बैठकले सामुदायिक विद्यालय सुधार गर्ने योजनाअनुरुप गरेको निर्णयअनुसार उक्त क्षेत्रमा सवारी प्रवेशमा रोक लगाइएको वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्ष विराटकुमार विष्टले पाटु क्षेत्रको कल्पेश्वर मन्दिरबाट पाटु चोक र वडा कार्यालय हुँदै जाने बाटोबाट निजी विद्यालयका विद्यार्थी बोक्ने सवारी प्रवेशमा रोक लगाइएको पत्र विद्यालयलाई पठाएपछि स्थानीयले एक हप्तादेखि निजी विद्यालयका सवारीसाधन गाउँ प्रवेश गर्न दिएका छैनन् ।
पाटु चोकबाट २ किलोमिटरभित्र पर्ने गाउँमा घरघरमै पुगेर विद्यार्थी लिने सवारी चोकमै रोकिदिएपछि बालबच्चालाई विद्यालय पठाउन निकै गाह्रो भएको स्थानीय अभिभावक तथा बर्दिवास बोर्डिङ स्कुलकी शिक्षिका कमला बस्नेतले बताइन् । चर्को घाम र अप्ठ्यारो बाटोमा स–साना बच्चालाई सवारी भएको ठाउँमा पुर्याउन एक घण्टा लाग्ने भएकाले राजमार्गमै सवारी रोकिदिँदा बालबच्चा विद्यालय लैजानै नसक्ने अवस्था भएको उनले बताइन् । उनले आफ्नो परिवारबाटै दैनिक ४ जना बालबालिका बर्दिवास पढ्न जाने गरेको बताइन् । सामुदायिक विद्यालय सुधार गर्ने योजनाले गाउँलेले बालबच्चाको नैसर्गिक अधिकार खोसिदिएको बस्नेतले बताइन् ।
गाउँको सामुदायिक विद्यालयमा बेथिति बढी भएकाले चर्को शुल्क तिरेरै बोर्डिङमा पढाउन आफूहरू बाध्य भएको निजी विद्यालयका अभिभावक बताउँछन् । सामुदायिक विद्यालय राम्रो होस् भन्ने चाहना सबैको भए पनि सवारी रोकेर विद्यार्थीलाई सास्ती दिने काम ठिक नभएको उनीहरूको भनाइ छ । निजी विद्यालयका सवारी रोकेर सामुदायिक विद्यालय राम्रो नहुने भएकाले विद्यालय राम्रो बनाउन पहिले सबै एकजुट भएर लाग्नुपर्ने स्थानीय कृष्ण खड्काले बताए । विद्यालयको गुणस्तर बढाएर अभिभावकलाई देखाउन सके निजी विद्यालयका सवारी बन्द गराउनै नपर्ने खड्काले बताए । स्थानीय, अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरोकारवाला पक्ष एकजुट भए सामुदायिक विद्यालय नमुना विद्यालय बन्न सक्ने खड्काले बताए ।
पाटुको सरकारी विद्यालय खत्तम छ भन्दै सामुदायिक विद्यालयको गाउँमा गलत प्रचार गरेर निजी विद्यालयले गाउँका बालबालिका तान्न थालेपछि बाध्य भएर सवारी बन्द गराएको पाटु विद्यालयका शिक्षक अभिभावक संघका संयोजक रमेश खत्रीले बताए । गाउँका पढेलेखेका केही मानिसलाई शिक्षक बनाइदिने र सामुदायिक विद्यालयको बदनाम गर्दै गाउँका विद्यार्थी तान्ने निजी विद्यालयको कार्यविरुद्ध यस्तो निर्णय भएको उनले बताए । गाउँका बालबच्चा गाउँकै विद्यालयमा पढाउने र गाउँको विद्यालय राम्रो बनाउने योजनाअनुरुप काम थालेको उनले बताए ।
आइतबार सवारी गाउँ प्रवेश गराउन प्रहरीले समेत पहल गरेको थियो । तर स्थानीयले सवारी प्रवेश गर्न दिएनन् । गाउँलेले सवारी गाउँ प्रवेश गर्न नदिएपछि विद्यार्थी लिन गएको बर्दिवासको एभरेस्ट बोर्डिङ स्कुल, बर्दिवास बोर्डिङ स्कुल, लोबेल एकेडेमी र सनसाइन बोर्डिङ स्कुलले बीपी राजमार्ग २० मिनेटसम्म अवरुद्ध समेत गरे । छलफल गराई सोमबारबाट गाडी प्रवेश गर्ने वातावरण बनाउने सरोकारवालको वचनपछि सडक खुलाइएको सनसाइन बोर्डिङ स्कुलका प्रधानाध्यापक दीपक रायमाझीले जानकारी दिए । नियम कानुनभन्दा बाहिर गएर वडाले गरेको निर्णयले बालबालिकाको अधिकार हनन् भएको र सडक सार्वजनिक सम्पति भएकाले विद्यालयका सवारीलाई मात्रै रोक लगाइनु आपत्तिजनक कुरा भएको रायमाझीले बताए ।