
महोत्तरी- महोत्तरीको गौशलामा आज प्रदर्शनकारी र प्रहरी बीच भएको झडपमा परी ७ सुरक्षाकर्मी र २ प्रदर्शनकारी घाइते भएका छन् ।

गौशाला नगरपालिका –४ मलहनीया पोखरी रजखोर की २६ वर्षीया आरती साहलाई उसको पति ३८ वर्षीय उमेश साह सहित घर परिवारले हत्या गरेको आरोपमा दोषिलाई पक्राउ गरी कारबाही गर्नु पर्ने माग स्थानीयले गरेको प्रदर्शनमा झडप भएको हो ।
महिला संजाल गौशलाकी अध्यक्ष रमा निरौलाको नेतृत्वमा भएको प्रदर्शनले उग्र रुप लिन थाले पछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन १३ राउण्ड अश्रुग्याँस र ९ राउण्ड हवाई फायर गरेका थिए ।

प्रदर्शनकारीहरुले उग्र प्रदर्शन गर्दै हत्या आरोपी उमेश साहको घरमा तोडफोड र अन्य परिवारिक सदस्यहरुलाई समेत कुटपीट गर्ने अवस्था आएकाले प्रहरीले रोक्न खोज्दा प्रहरीहरु माथि ढुँगा मुढा र बाँसको भाटा प्रहार गर्न लागेपछि प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जनाए अनुसार प्रर्दशनकारीले गरेको बाँसको भाटा प्रहार र ढुंगामुढाबाट सशस्त्र प्रहरी ४ र नेपाल प्रहरीका ३ जना र प्रदर्शनकारी २ जना समान्य घाइते भएका छन् ।

घाइतेहुनेहरुमा ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादव र सशस्त्र प्रहरी वेस क्याम्पका प्रहरी निरीक्षक शंकर थापा, हरि मगर शस्त्र प्रहरी हबल्दार, राजन सिंह प्रहरी हबल्दार, राजेश रायकुर्मी प्रहरी जवान लगायत रहेको डीएसपी गिरीले जानकारी दिनुभयाे ।

गौशाला नगरपालिका –४ मलहनीया पोखरी रजखोर गाउँकी २६ वर्षीया आरतीदेवीको वैशाख ८ गते राति विष सेवनका कारण मृत्यु भएको थियो । तर छिमेकी गाउँलेले भने आरतीलाई श्रीमान् उमेश साह, नन्द आशा साह तथा घरका सदस्यहरु मिलेर यातना दिएर हत्या गरेको आरोप लगाउँदै आएका छन् ।

आरती साहलाई पति ३८ वर्षीय उमेश साहले वैशाख ८ गते विष खुवाइ हत्या गरेको आरोपमा सोही दिन जिल्ला प्रहरी कार्यालय, महोत्तरीले गिरफ्तार गरेको छ ।

तर महिला संजाल गौशलाकी अध्यक्ष रमा निरौला सहित स्थानीयले भने आरतीको सासू, नन्द र जेठाजुलाई समेत पक्राउ गरी घटना छानबिनको माग राख्दै आन्दोलनमा उत्रेका हुन् ।
स्थानीयहरुले गौशाला सडकमा टायर बालेर बाटो अवरुद्ध गर्दै विरोध प्रदर्शन सुरु गरेका थिए ।
‘‘महिला हिंसा बन्द गर, आरतीदेवी हत्याका अभियुक्तलाई पक्राउ गर, शान्ति सुरक्षा कायम गर’’ जस्ता नारा लगाउँदै करिब ५०० सयजति स्थिानीयहरुले सुरु गरेको प्रदर्शन उमेश साहको घरमा पुगेपछि उग्र बनेको थियो ।
घटनास्थलबाट प्रत्यक्षदर्शीले जनाएअनुसार प्रदर्शनकारीले साहको घरमा तोडफोड गर्न लागेपछि सुरक्षाकर्मीहरुले रोक्न खोज्दा प्रदर्शनकारीले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरी स्थिति नियन्त्रण लिएको थियो । प्रदर्शनका कारण माईस्थान गौशाला सम्सी सडक अवरुद्ध भएको थियो ।

विहान ११ बजे देखि सुरु भएको प्रदर्शन साँझ ४ बजे वार्तामा सहमती भएपछि रोकिएको थियो ।
हत्या आरोप लगाइरहेका उमेशका बहिनी क्षीरेश्वरनाथ नगरपालिका १ रम्दैया बस्ने २६ वर्षीया आशा कुमारी साहलाई पक्राउ गरी उपस्थित गराउने सर्तमा सहमती भई प्रदर्शन बन्द भएको डीएसपी दिलिप गिरिले जानकारी दिनुभयाे।
यता मृतक आरती साहका बुबा बली साहले जिल्ला प्रहरी कार्यालयमा वैशाख १० गते आरोपित आरती साहका पति र नन्द आशा साह विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।
वैशाख ८ गते आरतीले विष सेवन गरेकोले उपचारको लागि बर्दिवास स्थित ट्रमा सेन्टरमा लिएर आएको आरोपित पतिले बताएका छन् ।
“आरतीलाई ल्याउँदा सास चलिरहेपनि ब्लड प्रेसर शून्य थियो,” र “उपचारकै क्रममा १५ मिनेटपछि आरतीको मृत्यु भयो,” उपचारमा संलग्न चिकित्सक डा. सन्तोष यादवले जानकारी दिनुभयो । डा. यादवका अनुसार आरती साहको मृत्यु मुसा मार्ने विष सेवनबाट भएको हो । साथै पोष्टमार्टम रिपोर्टबाट विस्तृत विवरण आउने उहाँले बताउनुभयो ।
आरोपित उमेश साह र मृतक आरतीबीच ६ वर्ष अगाडि विवाह भएको थियो । तर, २ वर्ष पछि उसको अनुहार राम्रो नभएको तथा मन पर्दैन भन्दै आरोपित पति, सासु र नन्द लगायतले कुटपिट तथ यतना दिने गरेको आरतीका भिनाजु गौशलाका सञ्चारकर्मी समेत रहेका निरञ्जन साहले जनाएका छन् । मृतक आरतीका एक ७ महिनाका छोरा र ३ वर्षकी छोरी छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।