जनकपुरधाम- यसपटक उपनिर्वाचन भएका तीन वटै क्षेत्रमा विभिन्न दलबीच प्रतिष्ठाको लडाईँ थियो ।
नागरिकता विवादमा दोषी ठहर भएर सांसद पद नै गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको लागि चितवनको चुनाव धेरै प्रतिष्ठाको विषय थियो । जहाँ उनले ४३ हजार भन्दा धेरै मतान्तरले जित निकाले र चुनावसँगै प्रतिष्ठाको लडाईँ पनि जिते ।
गठबन्धन गरेर चुनाव लडेका कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने रविको नजिक पुग्नेसमेत हैसियतमा रहेनन् ।
तनहुँको क्षेत्र नम्बर १ नेपाली कांग्रेसको लागि सबैभन्दा ठूलो प्रतिष्ठाको विषय बन्यो । कांग्रेस तनहुँमा भएभरको शक्ति लगाएकै हो । उम्मेदवार पनि राम्रै उठाएकै हो तर पनि कांग्रेसले तनहुँमा चुनावसँगै प्रतिष्ठाको लडाईँ पनि हार्यो ।
बारा-२ मा सबैभन्दा प्रतिष्ठाको लडाईँ जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादव र जनमत पार्टीका सीके राउतबीच रहेको थियो । यो लडाईँमा उपेन्द्रले बाजी मारेका छन् । यसपटक उपेन्द्रले बाजी मारेपनि यसअघिको नतिजा समेतलाई हेर्दा यादव र राउतले लडाईँमा हारजित नभई बराबरी गरेका छन् ।
गत मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा सप्तरीको क्षेत्र नम्बर २ मा सीके राउतले उम्मेदवारी दिएपछि उपेन्द्र यादव पनि चुनाव लड्न त्यहिँ पुगे ।
सीके राउतले उपेन्द्र यादवलाई १८ हजार भन्दा धेरै मतान्तरको लज्जास्पद हार चखाए । सीके राउतले भनेका थिए, ‘मधेसको राजनीति गर्ने ठेक्का लिएका केहि मसिहाहरुले मधेसीको हीतमा कहिल्यै काम गरेनन्, केवल दलाली मात्रै गरेका छन्, यिनिहरुलाई नहराएसम्म मधेसको समृद्धि सम्भव छैन।’
सधैँ सत्ता र सांसदको भोको मानिने उपेन्द्र यादव सीके राउतसँग चुनाव हारेपछि बेचैन थिए । उनले जसरी पनि पुन: संसद भवनमा जाने उपाय खोजिरहेका थिए । सत्ता गठबन्धनमा उनले बारा-२ बाट निर्वाचित आफ्ना सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने र रिक्त ठाउँमा आफू चुनाव लड्ने प्रस्ताव राखे । गठबन्धनले उनको प्रस्तावलाई स्वीकार गर्यो ।
यो कुराको संकेत पाएका सीके राउतले प्रतिनिधिसभाको बैठकमै उपेन्द्र यादव लक्षित धेरै विरोध र टिप्पणी गरेका थिए । तर सीके राउतको भाषणले कुनै फरक पार्नेवाला थिएन । त्यसैले उनले उपेन्द्रलाई हराउने उम्मेदवारको खोजी गर्न थाले । बारा-२ मा सबैभन्दा चर्चित अनुहार नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्रप्रसाद कुशवाहलाई उनले पार्टीमा ल्याएर उपेन्द्रसँग भिडाउने प्रस्ताव गरे ।
मंसिर ४ गतेको चुनावमा जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवसँग ४ सय मतले मात्रै पराजित भएका माओवादीका कुशवाहलाई उम्मेदवार बनाएर उपेन्द्र यादवलाई हराउने सीके राउतको योजना बन्यो र कुशवाहलाई पार्टी प्रवेश गराए ।
चुनावी अभियानका क्रममा पनि सीके राउतले उपेन्द्र यादवलाई जसरी पनि हराउने कुरा गरेका थिए । यता उपेन्द्र यादवले पनि अघिल्लो पटक हारेको बदला लिन कुनै कसर बाँकी राखेनन् ।
सत्ता गठबन्धनका दलको सहयोग पाएका उपेन्द्रले यसपटक भने चुनाव जिते र आफूलाई संसद भवन प्रवेशसँगै सीके राउतसँगको प्रतिष्ठाको लडाईँ बराबरी गरेका छन् ।




