
जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा भ्रष्टाचार बढिरहँदा सरकार भने मुकदर्शक बन्नुपरेको बताएका छन् ।
आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना कार्यक्रममा बोल्दै उनले प्रदेशमा भ्रष्टाचार बढिरहँदासमेत सरकार मुकदर्शक बन्नुपरेको बताएका हुन् ।
भ्रष्टाचार नियन्त्रणका लागि आफूसँग कुनै निकाय नभएको गुनासो गर्दै उनले प्रदेश सरकारलाई प्रहरी समायोजन र कर्मचारी समायोजन अति आवश्यक भइसकेको बताए । उनले संघ सरकारले प्रदेश सरकारसँग समन्वय समेत नगरेको गुनासो गरे ।
उनले मुख्यमन्त्रीको खल्तीबाट दिनदहाडै पैसा चोरिनु, मुख्यमन्त्रीको सवारीका बेलामा समेत ट्राफिक प्रहरीहरू सडकमा मोबाइलमा गफ गरेर बस्नुजस्ता गतिविधिले प्रदेशको सुरक्षा कस्तो छ भन्ने देखाउने बताए । उनले प्रदेश सरकारसँग समन्वय नभएसम्म कुनै आयोगले पनि निष्पक्ष तरिकाले पीडितले न्याय पाउनेगरी कार्य सम्पादन गर्न नसक्ने स्पष्ट पारे ।
उनले कर्मचारी समायोजन र प्रहरी समायोजन गरिदिए २४ घण्टाभित्र सबै पीडितलाई न्याय दिइए दोषीलाई कठघरामा उभ्याउने प्रतिबद्धता जनाए ।
‘मधेस प्रदेशमा हामी सबै जनता पीडित छौँ, किनभने भ्रष्टाचारीको कारण । दिनप्रतिदिन भ्रष्टाचार मौलाइरहेको छ। यसको जिम्मेवारी को ? हामीसँग त कुनै निकाय नै छैन, प्रदेश सरकार त एउटा मुकदर्शक बनेर बसेको छ। मैले आलोचना गरेको होइन, सत्य कुरा हो । प्रदेश सरकारलाई प्रहरी समायोजन अति आवश्यक भइसक्यो’ उनले भने ।
उनले दिनप्रतिदिन भ्रष्टाचार मौलाइरहेकाले सबै जनता पीडित बनेको बताए।