
जनकपुरधाम- संयूक्त युवा विद्यार्थी मोर्चाले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहको पुत्ला दहन गरेको छ ।
जनकपुरधामको भानुचोकमा आदिकवि भानुभक्त आचार्यको स्मारकको पुनः निर्माणका लागि शिलान्यास गरेको भन्दै मोर्चामा आवद्ध विद्यार्थी नेताहरुले नगरप्रमुख साहको तस्बिर जलाएका हुन् ।
मधेस आन्दोलनका प्रथम शहिद महतोको नाममा स्मारक बनाउनुपर्ने भन्दै उनीहरुले विरोधस्वरुप नगरप्रमुखको तस्बिर जलाएका छन् । उनीहरुले त्यहाँ शहिद रमेश महतोको शालिक निर्माण हुनुपर्ने माग गरेका छन् ।
लोकतान्त्रिक युवा संघ धनुषाका अध्यक्ष प्रशान्त झाले आफूहरुलाई भानुभक्त आचार्यसँग कुनै द्वेषभाव नरहेको बताए ।
उनले भने, ‘भानुभक्तप्रतिको हाम्रो सम्मान पहिला पनि थियो र सदैव रहिरहने छ । तर, मधेस आन्दोलनको क्रममा शहिद रमेश महतो नामाकरण गरिएको चौकमा पुनः भानुभक्त आचार्यको स्मारक राख्नु मधेस आन्दोलन तथा सहिदप्रतिको सम्मानमा प्रहार भएकोले हामीले विरोध गरेका हौं ।’
उनले नगरप्रमुख साहले वार्तामार्फत यस समस्याको समाधान गर्ने बताएपनि वार्ताको वातावरण अझै नबनाएको आरोप लगाए ।
शनिबार जानकी नवमीको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाले विरोध र विवादकाबीच स्मारकको शिलान्यास गरेको थियो । नगर प्रमुख मनोजकुमार साहले कडा सुरक्षाकाबीच स्मारक शिलान्यास गरेका थिए ।
विगतमा भानुचोकमा भानुभक्तको स्मारक रहेकोमा मधेस आन्दोलनको क्रममा आन्दोलनकारीहरुले सो स्मारक भत्काएका थिए । भानुभक्तको प्रतिमा भत्याइएपछि जनकपुरधाममा भएको सडक विस्तारमा बाँकी रहेको स्मारक समेत भत्काइएको थियो ।
जनकपुरधाम उपमहानगरपालिकाले स्मारक निर्माणका लागि करिब साढे २० लाख रुपैयाँ विनियोजन गरेको हो । उक्त स्मारक निर्माण गर्न प्रभु जालानको अध्यक्षतामा उपभोक्ता समिति समेत गठन गरिएको छ ।