
काठमाडौं । एसिसी प्रिमियर कपमा नेपाल र युएईबीचको रोकिएको फाइनल खेल आज मंगलबार हुँदैछ ।
खेल विहान ९ बजेपछि त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएको अवस्थाबाट आजको खेल सुरु गर्नेछ ।
नेपालका स्पिनर ललित नारायण राजवंशी ह्याट्रिक नजिक छन् । उनले आज पहिलो बलमै विकेट लिन सके दिवसीयमा ह्याट्रिक लिने पहिलो नेपाली खेलाडी बन्नेछन् ।
सोमबार टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । लगातार वर्षा भएपछि खेल स्थगित भएको हो ।
मंगलबार पनि वर्षाको सम्भावना छ । मंगलबार नतिजा आउन नसकेमा सुपर ओभरबाट नतिजा निकाल्नु पर्ने हुन्छ । यदि वर्षाको कारण सुपर ओभर पनि हुन हुन नसकेमा एकदिवसीय वरियताका आधारमा नेपाल नै एसियाकपमा पुग्नेछ ।
यसैबीच, नेपाल क्रिकेट संघ क्यानले फाइनलमा खेल मंगलबार दर्शकलाई निशुल्क प्रवेश गराउने भएको छ । क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले मंगलबार दर्शकलाई प्रवेश निशुल्क रहेको जानकारी दिएका छन् । सोमबार टिकटको मूल्य २ सय रुपैयाँ राखिएको थियो ।