जनकपुरधाम- धनुषा प्रहरीले चोरीको आरोपमा पक्राउ परेका २७ जनालाई एकै दिन सार्वजनिक गरेको छ ।
जनकपुरधाम लगायत जिल्लाको विभिन्न स्थानमा विभिन्न मितिमा चोरी गरेको आरोपमा पक्राउ परेकाहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको हो ।




विगत केही समय यता जनकपुरधाम सहित जिल्लामा चोरीको घटनामा वृद्धि भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष टोली परिचालन गरेर २७ जना चोरलाई चोरीका सामान सहित पक्राउ गरेर सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा बलिराम मण्डल, शुशिल पंजियार, सुनिल मुखिया, मुकेश साह, दिवेन्द्र मण्डल, रितेश गुप्ता, रंजित दास, नविन कुमार यादव, सोनु कुमार सहनी, राज कुमार यादव, संजिव राम, ईन्दल राम, नारायण साह, साजन मुखिया, सलमान मंसुर, ऐलुन खान, गुड्डु महतो, राम प्रवेश महतो, मुकेश गुप्ता, मणि शंकर यादव, सौरव यादव, राम गणेश साह, अजय मण्डल, कुन्दन गुप्ता, बिमलेश कुमार महासेठ, उमेश दास र शुभम कुमार साह रहेका छन् । उनिहरु सबै जना माथि चोरी तथा अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाइएको छ।
पक्राउ पर्ने चोरहरूमा मोटरसाइकल देखि ब्याट्रीसम्मका चोरहरू रहेको र उनीहरुलाई एक साता भित्रमा पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। पक्राउ परेका चोरहरूको उमेर १९ वर्ष देखि २५ वर्षसम्मको रहेको प्रहरीले जानकारी दिएको छ ।
यसले जनकपुरधाममा चोरको ठूलो समूह पक्राउ गर्नमा प्रहरी सफल भएको दाबी प्रहरीले गरेको छ । यसै गरि प्रहरीले दुई दर्जन चोरीका मोटरसाइकलहरू पनि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा चालु आर्थिक वर्षमा ९६ वटा चोरीको घटना दर्ता भएकोमा त्यस मध्ये ९७ जना पक्राउ गरेर कानून बमोजिम कारबाही गरिएको प्रहरीले जनाएको छ ।
चोरीको मुद्दामा पक्राउ परेका तर पीडितले जाहेरी नदिएका ३३० जना माथि अभद्र व्यवहार अन्तर्गत मुद्दा दर्ता गर्ने काम भएको छ । यसै गरि अभद्र व्यवहार अन्तर्गत ४०० जनालाई पक्राउ गरेर मुद्दा चलाउने काम भएको छ । यसै गरि हालसम्म चोरी भएका ६९ वटा मोटरसाइकल पक्राउ गरेको छ ।

यसै गरि चोरी भएको १९७ मोबाइल बरामद गरि पीडितलाई उपलब्ध गराएको छ भने भन्सार छली गरि ल्याएको ७ करोड ३५ लाख २४ हजार ८ सय राजश्व सङ्कलन गरेको जानकारी पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले लागूऔषध सेवनकर्ता, रोजगारीको कमी, हाईफाई लाईफ र खर्चिलो तथा भडकिलो जीवन शैली, महंगा गाडी, मोटरसाइकल, ब्राण्डेड समान लगाउने लोभमा सजिलो अर्थोआर्जनको माध्यम बनाएर साथी संगतको कुलतका कारण उनीहरुले चोरी गर्नेगरेको बताए ।





