
जनकपुरधाम- मधेश प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. रामकेवल साहको पार्थिव शरीरमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव सहितका विशिष्ट व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।
प्रतिष्ठानको केन्द्रीय कार्यालयमा राखिएको उपकुलपति प्राध्यापक डा. साहको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि मुख्यमन्त्री यादव सहित अन्य मन्त्रीहरू पनि पुग्नु भएको थियो ।
क्यान्सर रोगको पीडित भएर उपचारको क्रममा ६९ वर्षको उमेरमा हिजो बिहान ३ बजे उहाँको निधन दिल्लीमा निधन भएपछि शव आज जनकपुरधाममा ल्याउने काम भएको छ ।
मुख्यमन्त्री सरोज कुमार यादव, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादव, मधेश सरकारका मन्त्रीहरू विरेन्द्र सिंह, सुरिता साह, संजय यादव, जनकपुरधामका मेयर मनोज कुमार साह, पुर्वमेयर लाल किशोर साह, बृशेषचन्द्र लाल, सवैला नगरपालिका प्रमुख कारीराम यादव, पूर्व सांसद प्रमोद साह सहितले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
उपकुलपति डा. साहको पार्थिव शरीर जनकपुरधाम वडा नंं ४ मा अवस्थित नीजि निवासमा बेलुका सम्म राखिने र आजै अन्त्येष्टि संस्कार गरिने परिवारजनले जनाएको छ ।
करिब दुई दशक देखि मधेशको मुद्दा र मधेश आन्दोलनको पक्षमा थिंक टयांकका रुपमा काम गर्दै प्रथम मधेश सरकार बनेपछि मधेशको स्वास्थ्य क्षेत्रको विकासका लागि मधेश सरकारको स्वास्थ्य सल्लाहकार हुँदै प्रतिष्ठानको उपकुलपति बनेर सेवा गरिरहेका उनको निधनले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति भएको छ ।
नेपाल मेडिकल कलेजमा लामो समय अध्यापन गराएका प्राध्यापक डा. साह सेवा निवृत्त भएलगत्तै प्रतिष्ठानका उपकुलपतिमा नियुक्त हुनुभएको थियो । त्यसअघि अर्थोपेडिक्स सर्जन डा.साह केही वर्ष सरकारी सेवामा संलग्न रहेका थिए । २०२६ सालमा जनकपुरधामस्थित सरस्वती माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएका डा. साह सो परीक्षामा देशभरिमै तेस्रो स्थान प्राप्त गर्न सफल हुनु भएका थिए ।
कक्षा आठसम्म भने उनी आफ्नो जन्मथलो धनुषाको सबैला छेउ रघुनाथपुरको फकिरचन्द गामी उच्चा मावि बरकुर्वा स्थित विद्यालयमा अध्ययन गरेका थिए । अमृत साइन्स क्याम्पसबाट आएससी अध्ययन गर्नुभएका डा.साह भारतको मेरठ मेडिकल कलेजबाट एमबिबिएस र एमएस पढेका थिए । बेलायतको लिभरपुलबाट एमसीएचमा स्वर्णपदक प्राप्त गर्नु भएका डा. साहका दुई छोरा र श्रीमती रहेका छन् ।