महोत्तरी- मटिहानी नगरपालिकाको महिला बालबालिका जेष्ठ नागरिक शाखाले बालविवाह न्यूनीकरण कार्यक्रम अन्तर्गत २० वर्ष उमेर पूरा गरी छोरीलाई विवाह गर्ने अभिभावकहरुलाई आज एक कार्यक्रम बीच सम्मान गरिएको छ ।
२० वर्ष उमेर पूरा गरी छोरीलाई विवाह गर्ने ४1 जना अभिभावकलाई मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल र प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभयो ।
बालविवाहलाई निरुत्साहित गर्ने उद्देश्यले वडाले सिफारिस गरेका अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखिएको कुरा शाखाका प्रमुख दीपा दासले बताइन् ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख हरि प्रसाद मण्डलले समाजमा विद्यमान बालविवाहलाई निरुत्साहित गर्नु पर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बालविवाह सामाजिक अपराध हो, बालविवाह सामाजिक कुरीति रहेकोले अन्त्य गर्नु पर्ने भन्नु भयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक प्रकाश मल्ल, मटिहानी नगरपालिका उप-प्रमुख मन्जु देवी साह, वडा अध्यक्षहरु रयुफ शेष, कलीम अंसारी, अब्दुल गफार राईन लगायतका वक्ताहरु बालविवाह निरुत्साहित गर्ने बारे प्रकाश पार्नु भयो ।
मटिहानी नगरपालिकामा गणकहरुले गरेको बालविवाह सम्बन्धी तथ्यांक संकलनको आधारमा ३७ प्रतिशत बालविवाह हुने गरेको पाईएको छ ।


