जनकपुरधाम- जनकपुरधाममा आजदेखि रात्रिकालीन बजार सञ्चालन हुने भएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घले आज रातिदेखि जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालनमा आउन लागेको जनाएको छ।



जनकपुरधाम उपमहानगरपालिकाले रात्रिकालीन बजार सञ्चालनका लागि अनुमति दिएको हो ।
नगरप्रमुख मनोजकुमार साहले तत्काललाई राति १० बजेसम्म बजार सञ्चालन गर्ने गरी अनुमति दिएको जानकारी दिनुभयो । उहाँले अहिले सुरु गरेपछि बिस्तारै बजार सुधार गर्दै जाने बताउनुभयो ।
जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालनका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घले धेरै पहिलेदेखि विभिन्न निकायसँग माग गर्दै आएको थियो ।
उद्योगी व्यवसायीको माग बमोजिम रात्रिकालीन बजार सञ्चालन सम्बन्धमा आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा नगरप्रमुख साहले आजदेखि रात्रिकालीन बजार सञ्चालनको प्रस्ताव गर्नुभएको थियो ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रात्रिकालीन बजार सञ्चालनले यस क्षेत्रको अन्य व्यवसायलाई पनि थप चलायमान बनाउने विश्वास व्यक्त गर्दै यसले धार्मिक पर्यटकहरूलाई थप आकर्षित गर्ने र यसले आर्थिक अवस्था चलायमान बन्ने विश्वास व्यक्त गर्नुभयो ।




