महोत्तरीमा बहुविवाह आरोपमा एक वडा अध्यक्ष १७ वर्ष पछि गिरफ्तारीमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार भंगाहा नगरपालिका-४ का वडाध्यक्ष गणेश महतो बहुविवाह आरोपमा गिरफ्तार भएका हुन् ।
२६ असारमा छलफलका लागि पुगेका जिल्ला प्रहरी कार्यालय जलेश्वर पुगेको महतोलाई प्रहरीले बहुविवाहको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ ।
महतोकी जेठी श्रीमती ललिता देवीले सप्रमाण प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
महतोले ललितासँग २०५८ सालमा विवाह गरेका थिए । ललिता र महतोको छोरा र छोरी छन् । ललिताले श्रीमान्ले वर्षौंदेखि दोस्रो श्रीमती लुकाएर राखेको भन्दै प्रमाण सहित प्रहरीमा उजुरी दिएकी थिइन् ।
ललिताले पेस गरेको प्रमाणअनुसार २०६३ सालमा उनले दोस्रो विवाह समेत दर्ता गरेको पाइएको प्रहरीले जनाएको छ । उनले कान्छी श्रीमतीलाई आफ्नै नामबाट नागरिकता समेत चितवन जिल्लाबाट दिलाएको पाएपछि पक्राउ गरेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए ।
हाल जनप्रतिनिधिका हिसाबले उनी जिल्लामा जेठी श्रीमतीसँगै बस्दै आएको र कान्छी श्रीमतीबारे अहिले सबैकुरा खुलिनसकेकाले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बुधबार उनलाई म्याद थप गर्न जिल्ला अदालतमा हाजिर गराइएको गिरीले बताए ।
पक्राउ परेका महतोको विषयमा उनकी छोरी अल्पना कुमारी महतोले एक महिनापहिले आफ्नो बुबाले अर्को विवाह गरेको थाहा पाएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेकी थिइन् । ’बुबाको अर्को विवाहका कारण आमा ललिता देवी, भाइ रुपेश र मलाई बुबाले कुटपिट गरी घरेलु हिंसा गरिरहनुभएको छ’ भन्दै भिडियो सन्देश सार्वजनिक गर्दै न्याय मागेकी थिइन् ।
अल्पनाले समाजिक संजाल टिकटक मार्फत आफू र आफ्नो आमा माथि बुवाले गरेको हिंसा बारे पोष्ट गरेकी थिइन् । आफ्ना बुबाले अरु महिलासँग अनैतिक सम्बन्ध राखेको, ममीलाई झुक्याएर अर्कै घरजमसमेत गरेको उनले भिडियोमा बताएकी छिन्। उनले टिकटक मार्फत न्यायको पहल गरिदिनु हुन समेत सबैलाई आग्रह गरेकि छिन् ।
त्यसपछि वडाध्यक्ष महतो आफ्नो बचाउ गर्दै हिँडेका थिए ।
अध्यक्ष महतोको घरेलु हिंसा यो नै पहिलो भने होइन । २०६४ सालमा पनि पत्नी ललितालाई निर्घात कुटपिट गरेपछि प्रहरी कार्यालयबाट कागज गरेर मिलापत्र भएको पाइएको छ। कागजमा पत्नी र परिवारका सदस्यहरूलाई कुनै दुःख नदिने प्रतिबद्धता जनाए पनि पुनः घटना दोहोर्याएको स्थानीय बताउँछन्।
अध्यक्ष महतो वडामा निर्वाचित हुनुभन्दा पहिलेदेखि नै अर्की पत्नी रहेको पनि खुलासा भएको छ। तर, कान्छी पत्नी र छोराछोरीको विषयमा उनले गुपचुप बनाएको पत्नी ललितादेवीले बताइन्।
जनप्रतिनिधि बन्नुभन्दा पहिला अध्यक्ष महतो प्रायः बाहिर नै बस्ने गरेको पनि ललिताको भनाइ छ। ‘अहिले श्रीमान् घरमै बसे पनि सम्बन्ध भने श्रीमती-श्रीमानको जस्तो छैन,’ उनले भनिन् ।




