ढल्केबर- नेकपा (एमाले)ले आगामी असोज महिनामा मधेश प्रदेश कमिटीको अधिवेशन गर्ने भएको छ । बुधबार जनकपुरमा सम्पन्न पार्टीको प्रदेश सचिवालय बैठकले अगामी असोज ५ र ६ गते जनकपुरधाममा अधिवेशन गर्ने निर्णय गरेको हो ।
प्रदेश कमिटीका सदस्य सोमप्रसाद शर्माले अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताउनुभयो । उहाँले अधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको जानकारी दिनुभयो ।
शर्माका अनुसार बैठकले २०८० चैत मसान्तभित्र प्रदेश कमिटी, प्रदेशका आठ वटा जिल्ला कमिटी, १३६ पालिका कमिटी, एक हजार २७१ वटा वडा कमिटी र ११ हजार ४३९ वटा टोल कमिटीको अधिवेशन, गठन तथा पुनर्गठन सम्पन्न गर्ने निर्णय गरेको छ।
यसैगरी, सोही बैठकले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका नेता तथा कार्यकर्ताको व्यवस्थापन मिलाउन सुमन प्याकुरेलको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।
यस्तै, मधेशको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि तत्कालीन एवम् दीर्घकालीन कार्यक्रम तयारीका लागि जुली महतोको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
पार्टीका प्रदेश अध्यक्ष रामऔतार यादवको अध्यक्षता एवम् पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यमा बैठक बसेको थियो ।




