मधेश प्रदेशमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा व्यापक कडाइ पारिएको छ । निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदान सम्पन्न गराउने उद्देश्यले सुरक्षा संयन्त्र योजनाबद्ध रूपमा परिचालन गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी कमल थापाका अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रसहित विभिन्न संवेदनशील स्थानमा चेकपोस्ट स्थापना गरी विशेष निगरानी थालिएको छ । आठवटै जिल्लाका मतदान स्थल र केन्द्रहरूको सुरक्षा अवस्थाको अनुगमन तथा निरीक्षण कार्य सम्पन्न भइसकेको र आवश्यक तयारी पूरा गरिएको जानकारी उनले दिए ।



निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा म्यादी प्रहरी गरी ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता थापाले बताए । उनका अनुसार मतदानको अघिल्लो साँझदेखि नै सुरक्षाकर्मीहरू सम्बन्धित बुथमा पुगेर जिम्मेवारी सम्हाल्ने, सूचना टाँस गर्ने, चारकिल्ला निर्धारण गर्ने तथा मतदान स्थल वरपर गस्ती बढाउने कार्य गरिनेछ ।
नेपाल प्रहरीले मधेश प्रदेशका आठ जिल्लामा चार जना एसएसपी खटाएको छ। एसएसपी कमल थापालाई धनुषा र महोत्तरी, एसएसपी भीमबहादुर दाहाललाई सिरहा र सप्तरी, एसएसपी शान्तिराज कोइरालालाई बारा र पर्सा तथा एसएसपी सुरेश काफ्लेलाई रौतहट र सर्लाहीको जिम्मेवारी दिइएको छ। जिल्लास्तरमा एसपीहरूले सुरक्षा कमान्ड सम्हाल्नेछन् ।
सिरहा, सर्लाही, रौतहट र पर्सालाई तुलनात्मक रूपमा बढी चुनौतीपूर्ण जिल्ला मानिएको छ। प्रमुख नेताहरूको उम्मेदवारी, दल परिवर्तन, धार्मिक संवेदनशीलता तथा अघिल्ला निर्वाचनका घटनालाई आधार मानेर ती क्षेत्रमा विशेष सतर्कता अपनाइएको जनाइएको छ । म ध े श – प ्र द े श म ा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामध्ये एक हजार २४६ मतदान स्थल अतिसंवेदनशील अवस्थामा रहेको, ७५५ मतदानस्थल संवेदनशील अवस्थामा रहेको तथा १५९ मतदान स्थल सामान्य अवस्थामा रहेको बताइएको छ ।
सप्तरीमा २९६ मतदान स्थलमध्ये २०९ वटा मतदान स्थल अतिसंवेदनशीलको सूचीमा छन् । त्यस्तै सिरहाका १५४, धनुषाका १९४, महोतरीका १६३, सर्लाहीका १५८, रौतहटका १५२ तथा बाराका १४५ मतदान स्थल अतिसंवेदनशील सूचीमा राखिएको छ । मधेश प्रदेशमा कूल चार हजार ४७१ मतदान केन्द्र रहेको जनाइएको छ । निर्वाचनमा प्रदेशमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रगरी एक हजार २८ जना उम्मेदवार छन् । प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन् । जसमा पुरुषको संख्या १९ लाख पाँच हजार ८१९ तथा महिलाको संख्या १६ लाख ११ हजार ३०४ रहेको जनाइएको छ ।
७२ घण्टाका लागि सीमा बन्द
आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मधेस प्रदेशका भारतसँग जोडिएका सबै सीमानाका सोमवार रातिदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।
मधेस प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाका अनुसार भारतीय पक्षसँगको आवश्यक समन्वय र समझदारीपछि सीमा सिल गर्ने निर्णय भएको हो । यो प्रतिबन्ध फागुन २१ गते बिहीबार राति १२ बजेसम्म कायम रहनेछ । तर परिक्रमामा सहभागी हुन आएकालाई कुनै अवरोध गरिने छैन । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन दुवै देशका सुरक्षा अधिकारीहरूबिच भएको सहमतिअनुसार आवतजावतमा रोक लगाइएको हो । नाका बन्द भएको अवधिमा एम्बुलेन्स, दमकल, शववाहन जस्ता अत्यावश्यक सेवा र मानवीय सहायताका बाहेक अन्य सबै प्रकारका सवारीसाधन र पैदल यात्रीको आवागमनमा पूर्ण रूपमा रोक लगाइने प्रहरीले जनाएको छ ।
खुला सीमाका कारण निर्वाचनका बेला हुन सक्ने अवाञ्छित गतिविधि र सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्न सीमा क्षेत्रमा सुरक्षा गस्ती समेत बढाइएको छ । निर्वाचन अवधिभर सीमा क्षेत्रको सुरक्षालाई मजबुत बनाउन सुरक्षा निकायले विशेष कार्ययोजना लागू गरेको छ ।
मौन अवधि शुरु
यसैबीच प्रतिनिधि सभा निर्वाचनका लागि सोमवार मध्यरातिदेखि दुई दिनका लागि मौन अवधि सुरु भएको छ ।
मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न पाइँदैन । त्यसैले चुनावी सभा र प्रचारका लागि राजनीतिक दल तथा तिनका उम्मेदवारहरु व्यस्त छन् । मौन अवधि मध्यराति १२ बजेदेखि सुरु भएभएर मतदानको नसकिएसम्म लागु हुन्छ । मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भनेर मौन अवधि सुरु गर्ने प्रचलन छ । मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि शान्त हुने भएकाले मतदानको वातावरण बन्छ र मतदाताहरु उत्साहित भएर मतदान गर्छन् भन्ने अपेक्षा गरिन्छ ।
निर्वाचन आचारसंहितामा भनिएको छ, ‘दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने ।’ मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवार हरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ ।





