
जनकपुर - मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा थकित अवस्थामा देखिए सर्लाही हरिपुर्वाका २४ वर्षीय अंगेशकुमार यादव । हातमा जाहेरी दरखास्तसहित भेटिएका उनी चिन्तित देखिन्थे । पित्तथैलीको शल्यक्रिया गराएको श्रीमती पविताकुमारी यादव अचेत भएको चार महिना चार दिन बितिसक्दा पनि होस खुलेको छैन ।
थप उपचारका लागि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा भर्ना गरिएको ९८ दिन बितिसकेको छ । तर, उनको होस खुल्ने नखुल्ने अझै टुंगो छैन । काठमाडौंको बसाइ, अस्पताल खर्च र औषधिको रकम जोहो गर्ने कुनै उपाय नभएपछि उनी तीन साताअघि घर फिरेका हुन् । उनी आफ्नी श्रीमतीलाई ‘कोमा’मा पुर्याउने चिकित्सक र अस्पतालविरुद्ध ज्यान मुद्दाको जाहेरी दिन चाहन्छन् । तर, प्रहरीले कानुनी जटिलताबीच त्यसलाई दर्ता गर्न सकेको छैन ।
जाहेरी लिएर अंगेश र उनको परिवार धनुषा प्रहरीमा हरिपुर्वाबाट चार पटक आइसकेको छ । हरेक पटक प्रहरीले अनुसन्धान गरिरहेको ढाडस दिएर उनीहरूलाई फर्काउने गरेको छ । त्यसकारण अंगेश यस पटक मेडिकल क्षेत्रमै काम गर्ने काका वीरेन्द्र अधिकारी र ससुरा ब्रहमदेव राय यादवसँग आएका थिए ।
मंगलबार अंगेश सबैभन्दा पहिला एसपी नरहरी रेग्मीको कार्यकक्ष अगाडि पुगे । भित्र मिटिङ चलिरहेको भन्दै ३० मिनेटपछि आउन सुरक्षा गार्डले बताए । त्यसपछि उनी डीएसपी वरुणबहादुर सिंहको कार्यकक्षमा पुगे । उनको कार्यकक्षमा बाहिरबाट ताल्चा लगाइएको थियो । अनी अंगेशका काका वीरेन्द्रले उनलाई मुद्दा फाँटमा लिएर गए । त्यहाँ जाहेरी दर्ताको विषयमा बुझ्ने प्रयत्न गरे । प्रहरी निरीक्षक सागर कार्कीले अनुसन्धान भइरहेको दोहर्याए । उनको जवाफले अंगेशको काका वीरेन्द्र आश्वस्त भएन अनी मसिनो स्वरमा सोधे ‘सर मुद्दा दर्ता कहिले हुन्छ ?’
उनको प्रश्नमा प्रहरी निरीक्षक कार्कीले अस्पतालबाट आवश्यक कागजात र उपचारमा संलग्न चिकित्सकको एनएमसी नम्बर मगाएको जवाफ फर्काए । नेपाल मेडिकल काउन्सिलमा उक्त कागजात र एनएमसी नम्बर पठाउने र त्यहाँबाट अस्पताल र चिकित्सको त्रुटी देखाए मात्रै मुद्दा दर्ता हुने प्रहरी निरीक्षक कार्कीको कथन थियो ।
यसरी दर्ताबिना नै अस्पताल सञ्चालन गरेका मुस्कान अस्पतालका सञ्चालक र पविताको उपचारमा संलग्न चिकित्सकलाई कारवाही गर्न प्रहरी आलटाल गरिरहेको छ । अंगेशको ससुरा निवेदक रही तयार पारेको जाहेरी दरखास्तमा मुलकी अपराध संहिता २०७४ को दफा २३०, २३१ र २३२ को कसुर गरेको हुनाले क्षतिपूर्तिसहित कारबाहीको माग गरेको छ । तर, प्रहरी भने आफ्नो अधिकार क्षेत्रमा पर्ने कि नपर्ने भन्ने अन्यौलमा छ ।
प्रचलित मुलकी अपराध संहिताको दफा २३० मा ‘इजाजत प्राप्त नगरेको व्यक्तिले इलाज गर्न नहुने’ व्यवस्था छ भने दफा २३१ मा ‘बद्नियत चिताई इलाज गर्न नहुने’ र दफा २३२ मा ‘लापरवाही वा हेल्चक्रयाई गरी इलाज गर्न नहुने’ व्यवस्था छ । पवितालाई इजाजतबिनाको आस्पतालमा बिनाएनेस्थेसिस्ट शल्यक्रिया गरेर चिकित्सक र अस्पतालले नियतवस लापर्हीबा गरेको अंगेशको आरोप छ । त्यसकारण यो घटनामा तीनै दफा आकर्षित गरी प्रहरीले दोषीलाई कारबाही गर्न सक्ने कानुनी आधार भने रहेको अधिवक्ता रिंकुकुमारी यादव बताउँछिन् ।
घटनाको विषयमा जानकार रहेका एसपी भुवनेश्वर तिवारीको सरुवा भइसकेको छ । नयाँ आएका एसपी नरहरि रेग्मीले घट्नाको विषयमा बुझिरहेको र मुख्यमन्त्रीसँग छलफल गरेर दर्ता प्रक्रिया अगाडि बढाउने बताए । ‘मुख्यमन्त्रीज्यूको नोटिसमा परिसकेको विषय छ । एक पटक उहाँसँग छलफल गरेर के गर्न सकिन्छ गरौंला,’ उनले भने, ‘कारबाही त मेडिकल काउन्सिलकै क्षेत्राधिकारमा पर्छ त्यहाँबाट कुनै निर्देशन नआएसम्म केही भन्न सकिन्न ।’
मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहले यस घटनामा आन्तरिक समस्या देखिएको बताए । सुरुवातमा अस्पताल सञ्चालक पीडितको सम्पर्कमा रहे पनि अहिले कसैको सम्पर्कमा नरहेको हुनाले समस्या देखिएको बताए । तर, आफूहरु पीडितको पक्षमा रहेको र पीडितले जुन बाटो अपनाए पनि साथ दिने आश्वासन दिए । ‘मैले बुझेअनुसार अस्पताल सञ्चालक एकमुष्ट पैसा तिरेर मुद्दाबाट मुक्ति पाउन खोजेको छ । त्यहीअनुसार सुरुवातमा एक/दुई लाख रुपैयाँ पनि दिएको थियो,’ उनले भने, ‘अहिले मुक्ति पाउने नदेखेपछि सम्पर्कविहीन होला । मपनि प्रहरीसँग समन्वय गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन पहल गर्छु ।’
पविताको उपचारमा हाल सम्म ३० लाख रुपैयाँ खर्च भइसकेको उनको बुबा ब्रम्हदेव रायले बताए । पैसा अभावमा र केएमसी अस्पतालको ताकेताका कारण तीन साता यता अस्पतालमा बिरामी कुरुवा पनि कोही नरहेको उनले बताए । अस्पतालले नियमित पैसा बुझाउन तोकता गरिरहेको उनले बताए । ‘भएको पैसा हामीले उपचार खर्चमा बुझाइसक्यौं,’ उनले भने, ‘अब हामी पुरै सम्पत्ति बिक्री गरे पनि अस्पतालको पैसा तिर्न सक्दैनौं ।’ पैसा अभावमा पविताको औषधि उपचारमा समेत समस्या भएको उनको भनाइ छ ।
केएमसी अस्पतालकी मेडिकल निर्देशक प्राडा. मीना थापाका अनुसार ९८ दिनदेखि आईसीयूको भेन्टिलेटरमा राखिएकी पविताको नाममा हालसम्म अस्पतालमा केवल हजार रुपैयाँ डिपोजिट भएको देखिन्छ । ‘९८ दिन आईसीयूभित्र भेन्टिलेटरमा रहँदा जम्मा हजार रुपैयाँ डिपोजिट छ । अस्पतालले यो भन्दा बढि कति हेर्ने हो ?’ उनले भनिन्, ‘अहिले तीन सातादेखि बिरामी कुरुवा पनि नभएकाले नर्सहरूले आफैंले जोहो गरेर उनलाई खाना खुवाइरहेका छन् । हामी कहाँ बिरामीलाई खाना दिन प्रणाली छैन । भोलि बिरामीलाई केही भएमा हामीलाई नै दोष आउँछ ।’ उनले अब प्रहरीलाई औपचारिक रूपमा जिम्मा लगाउनुको विकल्प अस्पतालसँग नभएका बताइन् ।
प्रा .डा. थापाका अनुसार पविता अहिले पनि अचेत अवस्थामा भेन्टिलेटरमै छिन् र उनलाई पाइपको माध्ययमबाट खाना दिने गरिएको छ । त्यससँगै आवश्यक औषधि पनि अस्पतालले आफैं दिइरहेको छ ।
शल्यक्रिया गरेर पित्तथैली झिक्न ३ माघमा उनलाई जनकपुरस्थित मुस्कान अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन उनलाई शल्यक्रिया कक्षभित्र लगेर बेहोस पारिएको थियो, त्यसपछि उनको होस फिरेको छैन । पविताको शल्यक्रिया मुस्कान अस्पतालमा कार्यरत डा. ज्ञानकुमार साहले गरेका हुन् । शल्यक्रिया गर्दा एनेस्थेसिया (बेहोस पार्ने औषधि) दिने विशेषज्ञ चिकित्सक अनिवार्य हुनुपर्छ । तर, पवितालाई बेहोस पार्ने औषधि कुन चिकित्सकले चलाएका हुन् भन्ने अस्पतालले स्पष्ट पार्न सकेको छैन ।
पविताको उपचारको अभिलेख हेरेका एक चिकित्सकका अनुसार भने उनलाई बेहोस बनाउने औषधि दिँदा नै गडबड भएका कारण ‘हाइपोक्सिक ब्रेन इन्जुरी’ भएको सम्भावना बढी देखिन्छ । ‘हामीले यत्तिकै भन्न मिलेन तर दिमागमा अक्सिजन नपुगेर ब्रेन इन्जुरी भएको छ, त्यसको कारण एनेस्थेसिया दिँदा तलमाथि भयो भन्ने नै हो,’ ती चिकित्सक भन्छन्, ‘बेहोस बनाउन कुन औषधि दिइएको थियो ? शल्यक्रिया अवधिभर बिरामीको शरीरमा अक्सिजनको मात्रा के थियो ? यो सबै मनिटर गर्नुपर्ने हुन्छ । जसको विस्तृत जानकारी छैन । खासमा शल्यक्रिया गर्दा एनेस्थेसिस्ट नै थिए कि थिएनन् भन्ने यकिन छैन ।’
शल्यक्रियापछि होस फर्काउन पवितालाई तीन दिनसम्म मुस्कान अस्पतालले नै राखेको थियो । त्यसपछि ६ माघमा भने जानकी हेल्थ केयरमा सारिएको थियो । जानकीमा २७ दिनसम्म राख्दा पनि अवस्था सुधार नभएपछि भेन्टिलेटर भएको एम्बुलेन्समा राखेर पवितालाई सुरुमा काठमाडौंस्थित वीर अस्पताल पुर्याइएको थियो । तर, वीरमा भेन्टिलेटरयुक्त आईसीयू बेड खाली नभएको भन्दै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) रेफर गरिएको थियो ।