धनुषा – सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सामान्यतया त्यति धेरै एक्सपोजर पाउँदैनन् होला, तर धनुषाको नक्टाझिजस्थित रहेको जनता माध्यमिक विद्यालयमा अध्ययनरत महिला विद्यार्थीहरूले भने जिल्लाकै महिला क्रिकेट टिमलाई नेतृत्व गरिरहेका छन्।
मधेस प्रदेशको राजधानी जनकपुरधामको उत्तरी भेगमा पर्ने मिथिला नगरपालिका–२, नक्टाझिजस्थित रहेको जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमध्ये ११ जना छात्रा धनुषा जिल्ला महिला क्रिकेट टिममा आबद्ध छन्। हालै जनकपुरधाममा सम्पन्न भएको सहिद कप महिला लिग प्रतियोगिता–२०८३ मा धनुषा जिल्ला महिला क्रिकेट टिममा रहेका अधिकांश खेलाडी यही विद्यालयका थिए। सामान्यतया सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले खासै एक्सपोजर पाउँदैनन्, अवसर पनि कमै पाउँछन्। तर नक्टाझिजको यस सामुदायिक विद्यालयमा क्रिकेट खेलाडी मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका हक्की खेलाडीहरू पनि उत्तिकै छन्।




मधेसमा महिलाहरू खेलकुदका लागि बाहिर बिरलै जान पाउँछन्। बाहिरी कानुनभन्दा पनि समाजका रीतिरिवाज, परम्परा, घरपरिवारभित्रका आन्तरिक नियम, पारिवारिक बन्धन लगायतका कारणले मधेसका महिलाहरू खेलतर्फ कमै आकर्षित हुने गरेका छन्। तर अहिले अवस्था फेरिएको छ। अब मधेसका महिलाहरू खेल क्षेत्रमा धेरै अगाडि बढिसकेका छन्। राष्ट्रिय सिनियर टिमकी उपकप्तान समेत रहेकी पुजा महतोको अविश्वसनीय प्रदर्शनले मधेसका छोरीहरू क्रिकेटतर्फ आकषिर्त भएका छन्। खेलाडीहरूको जीवनमा कुनै न कुनै खेलाडी प्रेरणाको स्रोत हुन्छन्, तर मधेसका अधिकांश महिला खेलाडीहरूको प्रेरणाको स्रोत भने पूजा महतो नै बनेकी छन्।

रोजी कडारीको संघर्ष र छात्राहरूको राष्ट्रिय सपना
धनुषाको जनता माध्यमिक विद्यालय, नक्टाझिजमा महिला विद्यार्थीहरूलाई क्रिकेटतर्फ प्रोत्साहन गर्न मधेस प्रदेश महिला क्रिकेट टिमकी सदस्य रोजी कडारी को नाम पहिलो नम्बरमा आउँछ। उनले नै खेलाडीहरूलाई एकीकृत गरेर उक्त विद्यालयका विद्यार्थीहरूलाई क्रिकेट खेल्न सिकाएकी हुन्। बिना पारिश्रमिक उनी दैनिक रूपमा बिहान र साँझ ढल्केवरबाट करिब ५ किलोमिटर टाढा रहेको नक्टाझिजको खेलमैदानमा क्रिकेट प्रशिक्षण दिन आउने गर्छिन्।
उनी आफु राष्ट्रिय टिमको ढोका खोल्न नपाएपनि,आफुले सिकाएको खेलाडीहरु एक न एकदिन राष्ट्रिय टिममा छनौट हुने आत्मविश्वास उनमा छ ।

उनका अनुसार “आफूले स्रोत–साधनको अभाव र उचित अभ्यासको कमीका बाबजुद खेल्नुपरेको बताइन्। “म आफैँ प्रादेशिक टिमसम्मको यात्रा गर्न सफल भएँ, तर यी नानीबाबुहरूलाई आफूभन्दा राम्रो खेलाडी बनाएर राष्ट्रिय टिममा छनोट गराउने लक्ष्य राखेकी छु,” उनले भनिन्।
उनले थपिन्, “हालै जनकपुरधाममा सम्पन्न सहिद कपमा खेल्न पाउँदा सबै खेलाडी निकै खुसी छन्। उनीहरूका लागि यो एकदमै नयाँ अवसर थियो। बिस्तारै खेल्दै जाँदा खेलले मनोरञ्जनसँगै शारीरिक तथा मानसिक विकासमा पनि टेवा पुग्नेमा म विश्वस्त छु।”
“रोजीले हाम्रा विद्यार्थीहरूलाई खेल मात्र सिकाएकी छैनन्, खेलाडी र विद्यार्थीमा हुनुपर्ने अनुशासन र विनम्रता पनि सिकाएकी छन्,” जनता माध्यमिक विद्यालय नक्टाझिजका प्रधानाध्यापक श्याम कुमार यादव बताउँछन्। विधालयले प्रत्येक वर्ष स्पोर्ट्स विक्क गराएर खेलाडीहरुलाई खेल तर्फ प्रोत्साहन गर्ने गरेको यादव बताउँछन्। विधालयमा खेलमैदान को उचित व्यवस्थापन नभएर खेलाडीहरुलाई समस्या भएको बताउनुभयो।

नक्टाझिजको जनता माध्यमिक विद्यालयले देखाएको यो उदाहरण केवल क्रिकेटको सफलताको कथा मात्र होइन, मधेसमा महिलाको बदलिँदो सोच र सम्भावनाको संकेत पनि हो। सीमित स्रोत – साधन, सामाजिक बन्धन र अवसरको अभावका बीच पनि यहाँका छात्राहरूले मेहनत, अनुशासन र आत्मविश्वासका बलमा जिल्लास्तरीय टिमसम्मको यात्रा तय गरेका छन्। रोजी कडारीजस्ता समर्पित प्रशिक्षक र विद्यालयको निरन्तर प्रोत्साहनले यी खेलाडीहरूको भविष्य अझ उज्यालो बन्ने आशा बढाएको छ। उचित खेलमैदान, प्रशिक्षण र अवसरको व्यवस्था गर्न सकिए सामुदायिक विद्यालयबाटै राष्ट्रिय स्तरका महिला खेलाडी उत्पादन हुन सक्ने सम्भावना यो विद्यालयले प्रमाणित गरेको छ।




